काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि त्यसलाई काउण्टर दिन रातारात एकताको सहमतिमा पुगेका मधेश केन्द्रीत दुई दलबीचको एकता तुहिने संभावना बढेको छ । 

समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)बीच रातारात एकताको सहमति गरी जनता समाजवादी दल गठन गरेका थिए । उनीहरुले बैशाख १० गते मध्यरातमा पार्टी एकताको घोषणा गरेका थिए । बैशाख ११ गते निर्वाचन आयोग पुगेर यी दुई दलले पार्टी एकताको विषयमा निर्वाचन आयोगलाई सूचना दिएका थिए ।

सो नयाँ दल दर्ताका लागि शुक्रबार(भोलि)सम्म निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउनुपर्ने, तर हालसम्म महत्वपूर्ण विषयमा सहमति हुन नसकेको भन्दै तिनै दलका कतिपय नेताले एकता टुटेको प्रतिक्रिया दिइरहेका छन् । यसले दुई पार्टीबीचको एकता भाँडिने पो हो कि भन्ने सशंय पैदा गराएको छ । 

बिहीबार रातिसम्म पनि यी दुई दलबीच महत्वपूर्ण विषय मानिएको शक्ति बाँडफाँडमै कुरा मिलेको छैन र मिल्ने संभावना पनि नरहेको एक नेताले दाबी गरे । 

दल दर्ता सम्बन्धी कानूनी व्यवस्था अनुसार एकताको घोषणापछि एक भएको भनिएका दुई दलले एकता घोषणाको मितिले ४५ दिनभित्र दुवै दलको केन्द्रीय सदस्यको हस्ताक्षर, पार्टी एकता गर्न गरिएको सहमति, पार्टीको नेतृत्व तथा अन्य शक्ति बाँडफाँड सम्बन्धी निर्णयको कपी, एकीकृत दलको विधान लगायतका कागजात बुझाउनुपर्छ । जेठ २४ गते शनिवार ४५ दिन पुग्दैछ । यसकारण शुक्रबार(भोलि) यी दुई पार्टी आवश्यक कागजातसहित आयोग नगए एकता त्यसै तुहिने राजपाका ती नेताले दाबी गरे ।  

यी दुई दलका नेताबीच पार्टीको नेतृत्व कसले गर्ने, शक्ति कसरी बाँडफाँड गर्ने भन्ने विषयमा हालसम्म सहमति जुट्न सकेको छैन । राजपाले महन्थ ठाकुरलाई कार्यकारी अध्यक्ष बनाइनुपर्ने अडान छाडेको छैन भने समाजवादीले पनि आफ्ना अध्यक्ष उपेन्द्र यादवले नवगठित पार्टीको नेतृत्व गर्न पाउनुपर्ने अड्डी कस्दै आएको छ । 

दुवै पार्टीका नेताहरु बाबुराम भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने विषयमा सहमत देखिएका छन् । 

दुईमध्ये राजपा अध्यक्ष मण्डलका आधारमा चलेको र त्यहाँ ६ जना व्यक्तिले आलोपालो अध्यक्ष चलाएकोले उनीहरुको व्यवस्थापनले समेत एकताका बाँकी कुरा मिल्न नसकेको स्रोत बताउँछ ।

‘तुहिन्न एकता’
समाजवादी पार्टीका एक नेताका अनुसार रातारात गरिएको दुई पार्टीबीचको एकता घोषणा खेर जाने भएपछि यसलाई जोगाउन र शुक्रबार नै आवश्यक कागजातसहित आयोग जान भन्दै अन्तिम प्रयासलाई जारी राखेका छन् । 

यो प्रयासमा दुवै दलका केही मध्यमार्गी नेताहरुले समन्वय गरिरहेका बताइएको छ । 

तत्कालका लागि महन्थ ठाकुर र उपेन्द्र यादवलाई पार्टी संचालनको समान अधिकार दिने विषयमा छलफल भइरहेको बताइएको छ । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिजशालासँग कुरा गर्दै दुई पार्टीबीच भएको एकता नतुहिएको र तुहिन नदिने उल्लेख गर्दै दुवै पार्टीका नेताहरुको सम्मानजनक हैसियत कायम हुने गरी एकीकृत पार्टीमा अधिकार बाँडफाँडको छलफल चलिरहेको जानकारी दिए । 

‘शुक्रबार नै आयोग पुग्नुपर्छ भन्ने छैन । आइतबार पुगे पनि हुन्छ ।’ उनले भने–‘हामी एकतालाई भाँडिन दिंदैनौ ।’