काठमाण्डौ । विश्व महामारीबाट अतिप्रभावित फ्रान्सले कोरोनाभाइरसविरुद्धको पहिलो लडाइँ जितेको घोषणा गरेको छ। 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोनाविरुद्धको पहिलो लडाइँ जितेको र थुप्रै प्रतिबन्धहरु हटाइने घोषणा गरेका छन्। यो महामारी सुरु भएपछि राष्ट्रका नाममा चौथोपटक सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले ३ महिना लामो लकडाउनपछि अब देशको अर्थव्यवस्था फेरि ट्रयाकमा केही समय लाग्ने पनि बताए। 

राष्ट्रपति म्याक्रोनले सोमबारबाट फ्रान्सले युरोपियन युनियनको सेन्जेन जोनमा आबद्ध छिमेकी देशहरुका लागि आफ्नो सीमा खुला गरिदिने बताए। अब फ्रान्सको राजधानी पेरिसमा बार र रेस्टुराँ खुल्न इजाजत दिइने पनि उनले जानकारी दिए। ‘जुन २२ गतेदेखि अनिवार्य रुपमा स्कुल खुला गरिनुपर्छ, त्यसका लागि उचित तयारी गर्नुस्’, उनले भनेका छन्।

म्याक्रोनले आमजीवन फेरि सहज ढंगले अगाडि बढ्नेमा आशा व्यक्त गरे। उनले यो भाइरस पूर्ण रुपमा खतम नभएकोले सचेत रहन पनि जनतालाई आग्रह गरे। ‘अझै हामीबीच यो भाइरस लामो समयसम्म रहेछ’, उनले भने, ‘त्यसैले हामीले सामाजिक दूूरीको नियम पूर्ण रुपमा पालना गर्न आवश्यक छ।’

राष्ट्रपति म्याक्रोनले यो वर्षको गर्मीयाम गत वर्षको तुलनामा फरक हुने र यदि यो भाइरस पहिलेभन्दा बढी सक्रिय भएर फर्किएमा त्यसको नाम गर्न तयार रहनुपर्ने पनि बताए। ‘यो भाइरसविरुद्धको लडाइँ अझै सकिएको छैन’, उनले भने, ‘तर म खुसी छु कि हामीले यो भाइरसविरुद्धको पहिलो लडाइँ जितेका छौँ।’ – एजेन्सी