काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । यही क्रममा किशोर प्रधान समूहको तर्फबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा शंकरप्रसाद पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् । 

नेपाल पश्मिना उद्योग संघको तर्फबाट अध्यक्ष दुुर्गाविक्रम थापाले उपाध्यक्ष पदमा संघका पूर्व अध्यक्ष पाण्डेको उम्मेद्वारी घोषणा गरेका हुुन् । 

उनले चर्चामा रहेका अन्य उम्मेद्वारहरु पनि योग्य भए पनि पाण्डेमा विशिष्ट योग्यता रहेको भन्दै उनको जित सुनिश्चित रहेको दाबी गरे । ‘उहाँ लगातार तीन कार्यकालसम्म उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसक्नुुभएको छ ।’ उनले भने–‘सदस्यको रुपमा समेत उहाँको योगदान विशिष्ट रहेको सबैलाई अवगत नै छ ।’ 

हाल बैंक, फाइनान्स र बिमा समिति संयोजक समेत रहेका पाण्डे उवासंघभित्रका विभिन्न गुटका प्रतिनिधिहरुलाई समेत समन्वय गर्ने नेताको रुपमा चिनिइने थापाले दाबी गरेका थिए । उनकै क्रियाशीलतामा विश्व बजारमा नेपालको पश्मिना उद्योगको पहिचान स्थापित भएको र उनले निर्यातको क्षेत्रमा धेरै काम गरेका समेत बताइएको थियो । उनीसँग निर्यात अभिवृद्धिका ठोस कार्ययोजनाहरु रहेका र देशको अर्थतन्त्र विकासका लागि समेत पाण्डेले जित्नुुपर्नेमा थापाको जोड थियो । 

उद्योग वाणिज्य महासंघमा हाल वस्तुुगततर्फ ९९  सदस्य छन् । तीमध्ये ६७ मत आफ्नो तर्फ सुनिश्चित रहेको थापाको भनाई थियो । 

उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै पाण्डेले महासंघमा १२ वर्षको अनुुभव र सदस्य रहँदा चाहेर पनि गर्न नसकेको काम फत्ते गर्नका लागि समेत आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । उनले अनुुभवका खानी तथा कुशल क्षमता भएका किशोर प्रधानले मात्र उद्योग वाणिज्य महासंघभित्र सबैलाई मिलाएर लान सक्ने र हाल महासंघको कमजोर भूमिका कारण निहुरिएको उद्योगी व्यवसायीको शिर उचो बनाउने दाबी समेत गरे । 

किशोर प्रधानले महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी केही दिनअघि विराटनगरबाट घोषणा गरेका थिए । प्रधानको समूहबाट जिल्ला नगर उपाध्यक्षको रुपमा प्रमोद श्रेष्ठ भिड्दैछन् । 

उद्योग वाणिज्य महासंघको केही समयअघि सम्पन्न विशेष साधारणसभाले विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखेपछि यो पटकदेखि वरिष्ठ उपाध्यक्षको पदमा रस्साकस्सी चलेको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति स्वतः भावी अध्यक्ष हुने हुँदा समेत त्यसका लागि मैदानमा किशोर प्रधान र शेखर गोल्छा छन् ।