काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उद्योगी व्यवसायीहरुलाई पैसा र पदको प्रलोभन देखाउन थालिएको रहस्य खुलेको छ । अगुवा उद्योगी व्यवसायीहरुले नै शनिवार राति आयोजित एक कार्यक्रममाझ औपचारिक रुपमै यस्तो खबर आएको रहस्य खोलिदिएका हुुन् । 

काठमाण्डौमा शनिवार आयोजित शंकरप्रसाद पाण्डेको उम्मेद्वारी घोषणा कार्यक्रममा किशोर प्रधानको उम्मेद्वारीको बिषयमा बोल्न मञ्चमा चढेका उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले यस्तो रहस्य खोलेका हुुन् । 

‘हालै हामी पूर्वाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा गएका थियौं, धेरै जिल्ला तथा नगरका साथीहरुले हामीलाई पैसा र पदको प्रलोभन बाँडिएको गुनासो गर्नुभयो ।’ घिमिरेले भने–‘उद्योग वाणिज्य महासंघको चुनाव सम्पत्तिको लडाई हो कि सही नेतृत्वको खोजी ?’ उनले पैसाको खोलो बगाएर चुनाव जित्ने दिवासपना त्यागिदिन र मतदाताहरुले समेत सशक्त संगठन हाँक्नसक्ने सक्षम नेतृत्व चुन्नुपर्नेमा उनले जोड दिए । उनले उद्योगी व्यवसायीलाई कसैले पैसा दिएर मत प्रभावित पार्न खोज्छ भने बिकाउ नबन्न आह्वान गरे ।

महासंघका व्यवसायीकरण, व्यवसायी तथा उद्योगीको शिर उच्च बनाउन, सरकारसँग उद्योगी व्यवसायीका समस्या टेबल ठोकेर राख्नसक्ने नेतृत्व बनाउनका लागि समेत किशोर प्रधानलाई जिताउनुपर्नेमा उनको जोड थियो । ‘हामी जहाज चढ्ने बेलामा पाइलट को हो भनेर सोध्छौ, गाडी चढ्ने बेलामा ड्राइभर अनुुभवी हो कि होइन सोधीखोजी गर्छौ ।’ उनले थपे–‘अनि उद्योग वाणिज्य महासंघको नेतृत्वमा जान चाहि अनुुभव चाहिदैन ? ललीपप देखाएर आफ्नो अनुकूलमा काम गर्ने मानिसले कसरी सबैलाई मिलाउन सक्छ ? कसरी संगठन हाँक्न सक्छ ?’

उनले महासंघको वर्तमान नेतृत्वले देशभरका उद्योगी व्यवसायीको शिर निहुुर्याउने काम गरेको र त्यही समूहबाट आउनेले संगठनलाई मिलाएर लैजानसक्ने आशा गर्न नसकिने दाबी गरे । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी शेखर गोल्छालाई ‘किशोर प्रधानको भाई’ भन्दै अगाडि भने–‘सायद महेन्द्र गोल्छा जिवित हुनुहुन्थ्यो भने आज दाजुुभाईले नै यसरी भिड्नुुपर्ने थिएन होला, किशोर दाई निर्विरोध हुनुुहुन्थ्यो ।’ उनले सकेसम्म किशोर प्रधानलाई सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेमा जोड दिंदै भने–‘कसैको भरिया र पिछलग्गुु बनाउनेलाई नेता बनाउने कि साच्चिकै सन्तुलित नेतृत्व दिन सक्नेलाई चुन्ने, निर्णय गर्ने अधिकार उद्योगी व्यवसायीको हातमा छ ।’ 

पूर्व अध्यक्ष र पदाधिकारी पनि प्रधानकै समर्थनमा
यसैबीच, सोही कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका तीन पूर्व अध्यक्ष तथा एक पूर्व वरिष्ठ उपाध्यक्षले समेत किशोर प्रधानले मात्र अबको महासंघ नेतृत्व हाँक्नसक्ने दाबी गर्दै उनलाई भावी नेताको रुपमा जिताउनुपर्नेमा जोड दिएका थिए । 

पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले महासंघको वर्तमान नेतृत्व बाटो भूलेर अलमलिएको बताए । ‘हिजोको महासंघको गरिमा कति माथि थियो, आज कहाँ पुुग्यो त्यो गरिमा ?’ उनले भने–‘पछिल्लो नेतृत्वले महासंघलाई ध्वस्त बनायो, भोलिको दिनमा महासंघ के होला भन्ने चिन्ता हामी पूर्व अध्यक्षहरुलाई छ ।’ उनले विधान संसोधनको नाममा गलत प्रवृति र पक्ष हाबी भएको भन्दै अगाडि थपे–‘पहिला एउटा अध्यक्षको कुर्सी हुनुपर्ने ठाउँमा अब ३–४ वटा कुर्सी राख्न खोजिएको छ । यसले महासंघ अगाडि बढ्न सक्दैन ।’ उनले विधान संसोधन पूर्व अध्यक्षहरुको मतलाई स्थान नदिइएको र पेलेरै अगाडि बढिएका कारण महासंघभित्र चरम गुटबन्दी हाबी भएको बताए । उनले कुनै पक्षले घरभित्र बसेर मनोमानी अंशबण्डा गरी लोकतन्त्रको दुहाई दिएको आरोप समेत लगाए । 

अर्का पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले महासंघभित्र गलत गतिविधि भएका र यसले महासंघको भविष्य धरापमा परेको टिप्पणी गरे । ‘उद्योग वाणिज्य महासंघलाई सरकारको रबर स्ट्याम्प बनाइयो ।’ उनले थपे–‘महासंघलाई चौतर्फी आक्रमण भइरहँदा समेत वर्तमान नेतृत्व चूप रहेको छ, यति कमजोर नेतृत्व महासंघमा अहिलेसम्म कहिल्यै देखिएको थिएन ।’ 

उनले राजनीतिक दलमा झै महासंघमा पनि भागबण्डाको राजनीति छिरेको उल्लेख गर्दै सहमतिको नाममा कसैलाई टिपेर ल्याउने प्रवृतिको अन्तका लागि सैद्धान्ति लडाई लड्नुुपर्ने आवश्यकतामा जोड दिए । उनले महासंघको विधान संसोधन गलत भएको उल्लेख गर्दै आगामी महाधिवेशनमा मतदाताहरुले फेरि विधान संसोधन गर्नुपर्ने आवाज उठाउनुपर्नेमा जोड दिए । उनले भने–‘यदि मतदाताले यो पटक पनि विवेक पुर्याएनन् भने अबको ३ वर्षमा महासंघलाई दूरबिनले हेर्नुपर्ने अवस्था आउनसक्छ ।’ 

अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीले महासंघमा गलत र कमजोर नेतृत्व आउँदा महासंघको हैसियत संघको जत्ति पनि नभएको टिप्पणी गरे । ‘महासंघमा अब सक्षम र सवल नेतृत्व चाहिन्छ ।’ उनले भने–‘किशोर प्रधान जीको टिम निकै बलियो छ, यसले महासंघलाई कुशल ढंगले हाँक्न सक्छ ।’ उनले महासंघको पछिल्लो नेतृत्व निर्बल, असक्षम प्रमाणित भएको उल्लेख गर्दै थपे–‘महासंघमा फेरि उत्साह ल्याउने हो भने किशोर प्रधानको नेतृत्व निर्विकल्प छ ।’ 

सो कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले विधान परिमार्जनको क्रममा पूर्व अध्यक्षहरुलाई पाखा लगाइएको र कुनै व्यक्तिलाई मात्र नेतृत्वमा पुुर्याउन गैरकानूनी काम भएको दाबी गरे । ‘महासंघलाई केही व्यक्ति र गुटको छायामा पर्यो ।’ उनले थपे–‘सबैले आत्मसमीक्षा गर्न आवश्यक छ ।’ महासंघको महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा नहोस् भनेर विधान संसोधन गरिएको ढोल पिटिए पनि त्यस्तो नभएको उनले प्रष्ट्याए । ‘अहिले वरिष्ठ उपाध्यक्षको जसरी प्रतिस्पर्धा भइरहेको छ, यही प्रतिस्पर्धा अध्यक्षकै लागि हुँदा के फरक पथ्र्यो ?’–उनले प्रश्न गरे ।

अर्थतन्त्रको नयाँ इतिहास खडा गर्छु : प्रधान
वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार किशोर प्रधानले महासंघको निहुरिएको शिरलाई आफूले उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारसँग टेबल ठोकेर कुरा गर्ने मान्छे उद्योग वाणिज्य महासंघमा आउनुपर्छ ।’ उनले थपे–‘मलाई नेतृत्व दिने अवसर आयो भने नेपालको इतिहासमा अर्थतन्त्रको नयाँ इतिहास खडा गर्नेछुु ।’ 

उनले जबसम्म देशका उद्योगी व्यवसायीको सम्मान हुँदैन, तबसम्म देशको अर्थतन्त्र सुदृढ नहुने दाबी समेत गरे । ‘म उद्योगी व्यवसायीलाई सम्मान गर्ने वातावरण बनाउनेछुु ।’ उनले भने–‘अहिले एफएनसीसीआईमा खडेरी लागेको छ । प्रमाणित भइसकेको मेरो सक्षमतालाई म थप प्रमाणित गर्न चाहन्छुु ।’ उनले भूतपूर्व अध्यक्षहरुलाई सम्मान नभएको उल्लेख गर्दै आफूले त्यो वातावरण बनाउने वचन दिए । ‘मलाई एक मौका दिनुहोस् ।’ उनले थपे–‘म सशक्त नेतृत्व दिनेछुु, सवल संगठन बनाउनेछुु ।’