काठमाण्डौ । दोस्रो बजारमा महँगो मूल्यमा सेयर खरिदबिक्री हुने एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ४७ करोड ५५ लाख रुपैयाँबराबरको आईपीओ आज बुधबार (असार १० गते) बाट बिक्री खुला गरिएको छ। यो लघुवित्तमध्येकै ठूलो आईपीओ पनि हो।

करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृति पाएसँगै एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले रु. १०० अंकित ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ। 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ। 

आइपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकीएका शाखा कार्यलयबाट आवेदन गर्न सकिने छ। साथै प्रयोगकर्ताले ‘मेरो सेयर’मार्फत पनि आवेदन गर्न सक्नेछन्।

यो वित्तीय संस्थाको दुई महिनाअघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासन गरी सर्वसाधारणबाट पूँजी जुटाउने निर्णय गरेको थियो। 

यो कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हुनेछ। 

यो आइपीओलाई केयर रेटिङ्स नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ। बलियो संस्थागत संस्थापक, दक्ष सञ्चालक समिति तथा व्यवस्थापन समूह र स्थापनाको छोटो अवधिमा व्यवसाय विस्तारले लघुवित्तको रेटिङमा सकारात्मक प्रभाव पारेको केयरले उल्लेख गरेको छ।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।