काठमाण्डौ । पाकिस्तानका नागरिक उड्डयनमन्त्री घुलाम सरबार खानले पाकिस्तानका ३० प्रतिशतभन्दा बढी पाइलटहरुसँग नक्कली लाइसेन्स भएको र उनीहरु उडान भर्न योग्य नरहेको खुलासा गरेका छन्। 

पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री खानले यस्तो खुलासा गरेका हुन्। सम्बोधनका क्रममा उनले २६२ जना पाइलटहरुले आफूले परीक्षा नदिई आफ्नो साटो अरुलाई नै परीक्षा दिन लगाएको बताए। ‘उनीहरुसँग हवाई उडानको अनुभव नै छैन”, उनले भने। 

पाकिस्तानमा ८६० जना सक्रिय आन्तरिक उडान भर्ने पाइलटहरु कार्यरत छन्। मन्त्री खानका अनुसार यसमा पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एअरलाइन्स र अन्य विदेशी हवाई कम्पनीहरु प्नि समावेश छन्। 

पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) ले फर्जी लाइसेन्स भएका पाइलटहरुलाई तत्कालै लागू हुने गरी ग्राउन्डेड गरेको छ। नक्कली लाइसेन्सको समस्या केवल पीआईएको मात्रै नभई समग्र पाकिस्तानी हवाई उद्योगमा फैलिएको पीआईएले स्वीकारेको छ। पीआईएका प्रवक्ता अब्दुल्ला खानले पाकिस्तानी हवाई कम्पनीमा मात्रै नभई पाकिस्तानमा उडान गर्ने विदेशी हवाई कम्पनीमा समेत नक्कली पाइलट रहेको दाबी गरे। 

मे २२ मा पाकिस्तानको दक्षिणी सहर कराँचीमा ९७ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको अनुसन्धानको नतिजा बुधबार आएको थियो। लाहोरबाट कराँची जाँदै गरेको पीआईएको उक्त विमानमा रहेका दुईजना यात्रु र क्र्यु सदस्यबाहेक सबैको मृत्यु भएको थियो। 

मन्त्री खानले पीआईएको पिके ८३०३ मा उडान भरिरहेका दुईजना पाइलटहरुको लाइसेन्स नक्कली भए नभएका बारेमा भने कुनै जानकारी दिएनन्। रिपोर्टका अनुसार विमान बस्तीनजिक पुग्दै गर्दा पाइलटहरुले एअर ट्राफिक कन्ट्रोलरहरुले दिएको निरन्तरको चेतावनीलाई बेवास्ता गर्दै कोरोनाभाइरससम्बन्धी गफमा मस्त थिए। ‘उडान अवधिभर पाइलटहरु कोरोनासम्बन्धी गफमा मस्त थिए। उनीहरु उडानमा ध्यान दिइरहेका थिएनन्। आफ्नो परिवार कसरी संक्रमित भयो भनेर बताइरहेका थिए र उनीहरु बढी आत्मविश्वासी देखिएका थिए’, मन्त्री खानले भने, ‘पाइलटहरुलाई विमान धेरै उचाइमा रहेको र ल्यान्ड गर्न उपयुक्त नरहेको भन्दै तीनपटक चेतावनी दिइएको थियो। तर उनीहरुले गम्भीर रुपमा लिएनन्। पाइलटहरुले ल्यान्डिङ गिअर कम नगरीकनै ल्यान्ड गरे अनि दुर्घटना भयो।’ – एजेन्सी