बुटवल । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताहरुले १२ प्रतिशत बोनस सेयरपछि ३ बराबर १ का दरले हकप्रद भर्ने अवसर समेत पाउने भएका छन् । 

बैंकको असार २५ गते बुटवलको एभेन्यू प्रालिमा सम्पन्न १३ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

बोनस सेयरपछि कायम हुने आउने चुक्तापूँजीमा ३ बराबर १ कित्ताको दरले हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ । 

कोभिड १९ को बढ्दो महामारीका कारण भिडियो कन्फरेन्समार्फत गरिएको उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव प्रदिपकुमार श्रेष्ठले संचालन गरेका थिए । 

कार्यक्रममा बैंकका अध्यक्ष टिकाराम घिमिरेले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक एक आपसमा मर्ज तथा एक्विजिसन भई बनेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको उक्त साधारणसभामा आ.व. २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको बारे छलफल भई पारित गरिएको थियो । 

सभामा संचालक समितीमा संस्थापक शेयरधनी तर्फबाट जीवनप्रसाद बझा, राजेन्द्र प्रसाद बझा, ऋषिराम पाण्डे र शालिकराम बेलवासे एवं सर्वसाधारण शेयर धनीका तर्फबाट विपिन पौडेल र अनिलप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

साधारणसभा पश्चात वसेको संचालक समितिको पहिलो बैठकले संचालक जीवन प्रसाद बझालाई बैकको संचालक समितिको अध्यक्ष चुनेको छ । 

हाल चुक्तापूँजी १ अर्ब ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्ब ५० करोड निक्षेप संकलन गरी १२ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ भने ५३ वटा शाखा कार्यालयहरुबाट सेवा दिइरहेको छ ।