काठमाण्डौ । सेयर कारोबारमा लगानीकर्ता र ब्रोकरबीच रकम लिन वा दिन बाँकी भए ब्याजदर असुल गर्ने व्यवस्था धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा भए पनि हालसम्म कार्यान्वयन भएको छैन।

यो व्यवस्था कार्यान्वयन नभएकोले आमलगानीकर्ताले ब्रोकरलाई तिर्दै आइरहेको अग्रिम न्यूनतम २५ प्रतिशत धरौटी रकममा ब्याज गुमाउनुपरेको गुनासो आउन थालेको छ।

गत असार १५ गतेदेखि लागू भएको धितोपत्र कारोबार सञ्चालन (पहिलो संशोधन ) विनियमावली, २०७७ मा सेयर खरिद–बिक्रीका क्रममा ब्रोकर र लगानीकर्ताका बीचमा लिन वा दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफलका विषयमा स्पष्ट व्यवस्था गरेको छ। नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई पहिलो संशोधन गर्दै ब्रोकर र लगानीकर्ताबीच रकम लिनु वा दिनु भएमा ब्याज भुक्तानी गर्नुपर्ने व्यवस्था गरिदिएको नेप्सेले जनाएको छ।

ब्रोकर र लगानीकर्ताबीच सेयर खरिदबिक्री गर्नुपर्दा ब्याज भुक्तानीका विषयमा सम्झौता गर्नुपर्छ। ‘पुराना लगानीकर्ताले पनि यसअघि भएको सम्झौतामा एउटा बुँदा थप गरी ब्याज भुक्तानीका विषयमा सम्झौता गर्नुपर्छ’, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजशालासँग भने, ‘अनिवार्य रूपमा सम्झौता गर्नैपर्छ र भुक्तानी ढिला भएको खण्डमा ब्रोकर र ग्राहकबीचको आपसी सहमतिअनुरुप ब्याजदर निर्धारण हुनेछ।’

पछिल्लो समय सेयर खरिद गर्दा अनिवार्य २५ प्रतिशत रकम ब्रोकरसमक्ष राख्नुपर्ने हुन्छ। यसबाट लगानीकर्तामा थप दायित्व सिर्जना हुने भएकाले ब्रोकरले उनीहरुलाई ब्याज अनिवार्य दिनुपर्ने दायित्व रहन्छ। यदि सो ब्याज ब्रोकरले नदिइएको खण्डमा सीधै नेप्सेमा उजुरी गर्न सकिने प्रवक्ता पराजुलीले बताए।

यता ब्रोकरहरु भने हिजोआज २५ प्रतिशत अग्रिम रकम नै नलिई लगानीकर्ताका लागि सेयर खरिद गरिरहेका छन्। त्यतिमात्र होइन कतिपय अनलाइन कारोबारीलाई समेत ब्रोकरले नै बिना धरौटी फन्ड लोड गरिदिने गरेको एक लगानीकर्ताले बताए। न्यूनतम २५ प्रतिशत अग्रिम रकम लिइने नियम अधिकांश ब्रोकरहरुले कार्यान्वयन नगरेको स्रोतले दाबी गरेको छ। 

अग्रिम रकम लिएर कारोबार गर्दा  हिजोआज हुँदै आएको दैनिक १ अर्ब रुपैयाँ  कारोबार रकम १० करोडमा सीमित हुने र ठूलो ब्रोकर कमिसन रकम गुम्ने डरले ब्रोकरले नै नियम परिपालन नगरिरहेका स्रोत जिकिर गर्छ।

भर्खरै आएको नियम कार्यान्वयन हुन ढिला हुने र व्यवहारिक नियम नभएको ब्रोकरहरुको भनाइ छ। यो विषयमा ब्रोकरहरुबीचमा पनि एकमत देखिन्न। ‘स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नियामकसँग बजारबाट उठाउनुपर्ने रकम छ भनेर रोइलो मच्चाई ब्याजदर लिइने नियम बजारको सिद्धान्तविपरीत छ’, बिजशालानिकट एक ब्रोकर भन्छन्, ‘सूचनाका भरमा सेयर खरिद आदेश दिनुपर्ने हुन्छ। एउटा सानो न्यूजले सेयर किन्न वा बेच्ने निर्णय गर्नुपर्ने ठाउँमा यस्तो नियमले सेयर बजारकै गरिमा गुमाउँदै जान्छ।’

अध्यक्ष रानाभाट नियममा भएकोले अनिवार्य रूपमा ब्रोकरहरुले २५ प्रतिशत रकम लिनैपर्ने जिकिर गर्छन्। नियमको पालना सबै ब्रोकरले गर्नैपर्ने उल्लेख गर्दै उनले यदि अग्रिम रकम नलिई सेयर खरिद भइरहेको भए नियामकले नियमन गर्नुपर्ने तर्क गरे।