काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । 

एनसिएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो । 

एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीको कारोबारमा लाग्ने शुल्क घटाइएको बताएको हो । 

एनसीएचएलले श्रावण १, २०७७ देखि लागू गरेको  भुक्तानी शुल्क एनसीएचएल-इसीसीमा ०-१५, एनसीएचएल-आइपीएसमा २-१० र कनेक्ट आइपीएसमा २-१५कायम हुने गरी परिवर्तन गरेको छ ।

त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई  ०.७५ प्रतिशत(न्यूनतम रु २ र अधिकतम रु.१००)बनाइएको छ । यद्यपि एनसीएचएलको एक्सप्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क भने यथावत राखिएको छ । 

एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग(एनसीएचएल इसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी(एनसीएचएल आइपीएस), कनेक्ट आइपीएस इपेमेन्ट, कनेक्ट आरटीजिएस र नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई)लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ । ३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४.२० लाख कारोबार गरिएको र सो बापत लाग्ने ५.२० करोड शुल्क नलिएको हो।

एनसीएचएलले परिवर्तनमा ल्याएको शुल्कहरुले डिजिटल भुक्तानी कारोबार र समग्र अर्थतन्त्रमा नगदको निर्भरता कम गर्न सहयोग गर्ने विश्वास लिइएको छ । परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागू हुने बताइएको छ ।