काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लगानीकर्ताहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने सम्बन्धमा सदस्य दलाल (ब्रोकर) हरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ।

यसअघि नै नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली जडान गर्न हार्डवेयर र जनशक्तिबारे मापदण्ड तोकिसकेको अवगत गराउँदै नेप्सेले कार्यान्वयन गर्न गराउन निर्देशन जारी गरेको हो। धितोपत्र दोस्रो बजारमा कारोबार गर्दा ब्रोकहरुबाट दुःख पाइरहेको गुनासो लगानीकर्ताहरुबाट आउन थालेपछि नेप्सेले लगानीकर्ताको बढ्दो संख्याका कारण नेप्सेले ब्रोकरहरुलाई नेप्सले तोकेबमोजिम हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता बढाउने तथा प्राविधिक जनशक्ति राख्न निर्देशन दिएको हो। नेप्सेका अनुसार हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलाल (ब्रोकर)हरु बाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४० हजार पुगेको छ।

यसैगरी नेप्सेले नट्समार्फत सहज कारोबार गर्न गराउन लगानीकर्तालाई नाम, ठेगाना, तीनपुस्ते, नागरिकता नम्बर, बैंक खाता, निक्षेप खाताहरुको यकिन विवरण राखन पनि ब्रोकरहरुलाई निर्देशन दिएको छ। लगानीकर्तालाई अनलाइन सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण दिने एवं कारोबारका क्रममा कुनै समस्या आएमा तुरुन्तै समाधान गर्ने गरी सहायता कक्षा (हेल्प डेस्क) तुरुन्त व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। 

नेप्सेले उपलब्ध गराएको अनलाइनसम्बन्धी निर्देशिकाअनुसार लगानीकर्तालाई कारोबार गर्ने गरी युजरनेम तथा पासवर्ड उपलब्ध गराउनुअघि सञ्चालन गर्ने तरिकाबारे जानकारी दिन, लगानीकर्ताको सेयर खातामा पर्याप्त मौज्दात भए नभएको यकिन गरेरमात्र आदेश प्रविष्ट हुन सक्ने व्यवस्था मिलाइएको हुँदा लगानीकर्ता आफूले कारोबार गर्ने खाता (सदस्य दलालसँग खोलिने खाता) र सदस्य दलाललाई उपलब्ध गराएको सेयर निक्षेप खाता (डीपी अकाउन्ट) एउटै भएको सुनिश्चित कारोबार गर्ने गराउने निर्देशन पनि दिएको छ। 

ब्रोकर कार्यालयहरुमा टेलिफोन, मोबाइल नउठेको जस्ता गुनासो प्राप्त भएकोले यस्ता गुनासो अब आइन्दा आउन नदिने व्यवस्था तुरुन्त मिलाउन पनि नेप्सेले निर्देशन दिएको छ। 

यसैगरी प्रचलित ऐन, नियम, विनियम तथा निर्देशनमा तोकिएको बमोजिमका योग्यता पुगेका कर्मचारीबाट मात्र धितोपत्रको कारोबारसँग सम्बन्धित कार्य गर्न गराउन नेप्सेले ब्रोकरहरुलाई निर्देशन दिएको छ।