काठमाण्डौ । टिकटकले विश्वभर कर्मचारी वृद्धि गर्ने योजनास्वरुप अमेरिकाका दुईवटा दिग्गज कम्पनी फेसबुक र गुगलका कर्मचारी भित्र्याउने योजना सार्वजनिक गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने चेतावनी दिए पनि कम्पनीले अबको तीन वर्षभित्र १० हजार अमेरिकी कर्मचारी हायर गर्ने योजना सार्वजनिक गरेको छ। अमेरिकामा टिकटकको सबैभन्दा ठूलो कार्यालय क्यालिफोर्निया र न्युयोर्कमा रहेका छन्। १४ सय अमेरीकी कर्मचारीलाई रोजगार प्रदान गरिसकेको चिनियाँ स्वामितवमा रहेको भिडियो सेयररिङ एप टिकटकले उच्च ओहदाकासहित गुगल र फेसबुकका थुप्रै कर्मचारी हायर गरिसकेको छ। 

लिंकेडइनको विश्वलेषणअनुसार विश्वभर टिकटकले गुगलका १७२ जना र फेसबुकका १६५ जना पूर्वकर्मचारीलाई भित्र्याइसकेको छ। टिकटकले अमेरिकामा काम गर्ने गुगलका ७९ जना र फेसबुकमा काम गर्ने ७९ जना कर्मचारीलाई आफ्नो कम्पनीमा भित्र्याइसकेको छ। यी कर्मचारीहरुमध्ये केहीले फेसबुक र गुगल पहिले नै छोडिसकेका थिए भने केहीले भने टिकटकमा जोडिनका लागि भर्खरमात्रै सिलिकन भ्याली छोडेका थिए। 

टिकटक प्रवेश गर्ने फेसबुकको सबैभन्दा उच्च कर्मचारी ब्लेक च्यान्डली हुन्। उनले फेसबुकमा आफ्नो १२ वर्षे कार्यकालको अन्त्य गर्दै गत जनवरीमा कम्पनी छोडेका थिए। फेसबुक छोडेपछि उनी अहिले न्युयोर्कमा आधारित टिकटकको ग्लोबल बिजनेस सोलुसनको महत्वपूर्ण पदमा नियुक्त भएका छन्। 

त्यस्तै फेसबुकमा आफ्नो ९ वर्षे कार्यकाल पुरा गर्दै चेन लिन लीले फेसबुक छोडेका थिए। फेसबुक छोडेपछि उनले पनि माउन्टेन भ्युमा रहेको टिकटकको पार्टनरसिपको डाइरेक्टर नियुक्त भएका छन्। फेसबुकमा काम गर्नुअघि उनी गुगलमा कार्यरत थिए। 

टिकटकले अमेरिकामा आफ्नो उपस्थिति अझै बलियो बनाउन अमेरिकाका दिग्गज टेक कम्पनीहरुका विज्ञहरुलाई समेत करारमा नियुक्त गर्न थालेको छ। फेसबुकमा गत मार्चसम्म रिक्रुटिङ म्यानेजरमा रहेकी किम लुई अहिले न्युयोर्कमा रहेको टिकटकको ट्यालेन्ट एक्युजिसनको प्रमुख बनेकी छन्। फेसबुकमा काम गर्नुअघि उनी गुगलमा टेक्निकल सोर्सरका रुपमा कार्यरत थिइन्। 

अमेरिकामा मात्रै नभई युरोपमा समेत टिकटकले फेसबुक र गुगलका कर्मचारी आफ्नोमा भित्र्याउन थालेको छ। फेसबुकले युरोपमा भर्खरमात्रै आफ्नो दिग्गज कर्मचारी गुमाएको छ। फेसबुकमा ११ वर्ष काम गरेपछि ट्रेभोर जोनसनले भर्खरै टिकटकमा मार्केटिङ र ग्लोबल बिजनेस सोलुसनमा प्रमुखको जिम्मेवारी पाएका छन्। 

त्यस्तै युरोपका लागि गुगलका पब्लिक पोलिसीमा सिनियर म्यानेजरका रुपमा काम गरेका बर्टराम युरोपका लागि टिकटकको सरकारी सम्बन्ध र पब्लिक पोलिसीका डाइरेक्टर भएका छन्। 

लिंकेडइनको विश्लेषणअनुसार टिकटकले अमेजनमा काम गरेका ५७ जना र एप्पल कम्पनीमा काम गरेका ४० जना कर्मचारी पनि आफ्नोमा भित्र्याइसकेको छ। लिंकेडइनका अनुसार टिकटकसँग ४ हजार ६५८ जना कर्मचारी रहेका छन्। टिकटकमा बेइजिङको बाइटडान्सको स्वामित्वको रहेको छ। जसले गत वर्ष १७ बिलियन डलर आम्दनीबाट ३ बिलियन डलर मुनाफा कमाएको थियो। बाइटडान्सको विश्वभर ६० हजार कर्मचारी कार्यरत छन्। जसलाई गत मार्च महिनामा एक वर्षभित्र कम्पनीले १ लाख पुर्याउने जनाएको थियो। 

अमेरिकी दिग्गज कम्पनीमा काम गर्ने कर्मचारीको तलब विश्वमै आर्कषक हुने गर्दछ। तर टिकटकले पनि आफ्ना कर्मचारीलाई राम्रो तलब दिने गरेको छ। जसका कारण टिकटकमा काम गर्नेहरुको आकर्षण बढ्दो देखिन्छ।