काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उत्पादनको क्षमता विस्तार गर्न फुजी फिल्मलाई २६५ मिलियन डलरको ठेक्का प्रदान गरिएको घोषणा गरेका छन्।

ट्रम्पले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले फुजी फिल्म टेक्सस ए एन्ड एम इनोभेसन सेन्टरलाई टेक्ससमा रहेको कलेज स्टेसनमा उक्त ठेक्का प्रदान गरिएको बताए। उनले यस्तो घोषणा नर्थ क्यारोलिनामा अवस्थित फुजी फिल्म डायोस्निथ बायो टेक्नोलोजिजमा रहेको बायो प्रोसेस इनोभेसन सेन्टरमा गरेका हुन्। 

यो सेन्टरमा कम्पनीले नोभाभ्याक्सको कोरोनाविरुद्धको भ्याक्सिनका लागि ‘बल्क ड्रग सबस्ट्यान्स’ उत्पादन गरिरहेको छ। कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्नका लागि नोभाभ्याक्सलाई अमेरिकाको केन्द्रीय सरकारले १.६ बिलियन प्रदान गरेको छ। 

ट्रम्पले कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन क्षमता विस्तार गर्न फुजी फिल्मसँग २६५ मिलियनको सम्झौतामा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको बताएका छन्। तर अमेरिकी स्वास्थ्य अधिकारीहरुले सुरक्षित र प्रभावकारी भ्याक्सिन पत्ता लागे पनि त्यसको डोज उत्पादन र वितरण गर्न अर्काे समस्या उत्पन्न हुने बारम्बार चेतावनी दिँदै आइरहेका छन्। – एजेन्सी