काठमाण्डौ । दिग्गज फर्मा कम्पनी एस्त्राजेनेकाले भविष्यमा विकास हुने कोरोनाविरुद्धको भ्याक्सिन प्रत्येक वर्ष लगाउनुपर्ने हुन सक्ने सम्भावना औँल्याएको छ। 

कोरोनाविरुद्धको सम्भावित खोप विकास गर्न लागिपरेको एस्त्राजेनेका एक्लो बेलायती कम्पनी हो। कम्पनीले कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरिरहेको छ। यस प्रक्रियामा अमेरिका पनि चाँडै सहभागी हुने कम्पनीले जनाएको छ। 

कोरोनाविरुद्धको भ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणालीमा कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा यी परीक्षण केन्द्रित हुनेछन्। यसअघि अक्सफोर्ड विश्वविद्यालयले विकास गर्न लागेको भ्याक्सिनले सुरुआती मानव परीक्षणको बेला प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रतिक्रिया जनाएको देखाएको थियो। 

कोभिड १९ को अनिश्चितताका कारण एस्त्राजेनेकाले भविष्यमा भ्याक्सिन सफल भयो भने एकभन्दा बढी पटकसम्म खोप लगाउनुपर्ने हुन सक्ने सम्भावना औँल्याएको हो। ‘हामीले थाहा पाएसम्म सुरुआती खोपका लागि अधिकांश कम्पनीहरु दुइवटा इन्जेक्सनको लक्ष्य राखिरहेका छन्। सार्स–१ मा हामीले प्रयोग गरेको प्रविधिबाट जानेका कुराका आधारमा हाम्रो आफ्नै मान्यताअनुसार प्रतिरोधात्मक क्षमता १२ देखि १८ महिनासम्म रहिरहन सक्छ’, एस्त्राजेनेकाका सीईओ पास्कल सोरियटले भने, ‘तर वास्तविकता के भने हामी यसबारेमा सुनिश्चित छैनौँ। यो भाइरस अनुमान लगाउन सकिने खालको छैन।’

कोरोनाविरुद्धको सम्भावित भ्याक्सिन विश्वका विभिन्न क्षेत्रमा पुर्याउनका लागि कम्पनीले सम्झौता गरिरहेको छ। गत जुन महिनामा ४०० मिलियन डोज आपूर्ति गर्न कम्पनीले जर्मनी, फ्रान्स, इटली र नेदरल्यान्डसले सहकार्य गरेको युरोपको समावेशी भयाक्सिन गठबन्धनसँग सम्झौता गरेको थियो। ४ सय मिलियन डोज अमेरिका र बेलायतलाई र १ बिलियन डोज मध्य आय भएका देशहरुलाई प्रदान गर्ने गरी कम्पनीले करिब २ बिलियन डोज उत्पादन गर्ने लक्ष्य लिएको छ। – एजेन्सी