काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज सोमबार अन्तिम मौका रहेको छ।

कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता अवितरित हकप्रद सेयर लिलाममा राखेको छ। लिलाममा राखिएको सेयर खरिद गर्न आज बैंकिङ समयसम्म शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ। 

कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म चुक्तापुँजीका ६० प्रतिशतले हुन आउने हकप्रद निष्कासन तथा बिक्री खुला गरेको थियो। त्यसमा नबिकेको हकप्रद लिलाम प्रक्रियामार्फत बेच्न लागिएको हो। 

लिलाममा राखिने सेयर खरिदका लागि व्यक्ति, कम्पनी, संघसंस्था आदिले बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। बोलपत्र काठमाण्डौको नागपोखरीस्थित एनएमबी क्यापिटलको कार्यालय वा एनएमबी बैंकका उपत्यकाबाहिरका शाखाहरु बिर्तामोड, जनकपुर, नारायणगढ, बागलुङ, दाङ, वीरेन्द्रनगर, महेन्द्रनगर, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धादिङमा पेस गर्न सकिनेछ।