काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनमा सन्देह जनाएको छ।

रुसले आउँदो अक्टोबरबाट कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु गर्ने खबर सार्वजनिक भएलगत्तै डब्ल्यूएचओले रुसी भ्याक्सिनमाथि सन्देह जनाएको हो। डब्ल्यूएचओले भ्याक्सिन उत्पादनका लागि गाइडलाइनहरु बनाइएको भन्दै रुसी भ्याक्सिनमाथि शंका व्यक्त गरेको हो।

रुसका स्वास्थ्यी मिखाइल मुरास्कोले गत शनिबार अक्टोरबाट कोरोनाविरुद्धको भ्याक्सिन ठूलो संख्यामा लगाउनका लागि अभियान नै सुरु गर्ने बताएका थिए। उनले सुरुआती चरणमा लगाइने यो भ्याक्सिनको कुनै पनि मूल्य नलिइने र विशेषगरी चिकित्सकलगायत अग्रपंक्तिमा खटिएकाहरुमाथि लगाइने जानकारी दिएका थिए। 

मन्त्री मुरास्कोले यो भ्याक्सिन उत्पादनका साथसाथै क्लिनिकल ट्रायल पनि जारी रहने बताएका थिए। ‘यसलाई अझै प्रभावकारी बनाउने कोसिस रहनेछ’, उनले भनेका थिए। 

डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमियरका अनुसार रुसी स्वास्थ्यमन्त्री मुरास्कोको यस्तो अभिव्यक्तिले यो भ्याक्सिन पूर्ण रुपमा विश्वसनीय नरहेको प्रस्ट रहेको छ। ‘हामी सावधान हुन आवश्यक छ, यस्ता कुराको जाँच हुनुपर्छ’, क्रिस्टियनले भने, ‘केही शोधकर्ताहरुले आफूले भ्याक्सिन विकासमा सफलता प्राप्त गरेको दाबी गर्छन्, जुन राम्रो कुरा हो तर क्लिनिकल ट्रायलको सबै चरण पूरा गर्दै प्रभावकारी साबित भएपछि मात्र सफल भएको मान्नुपर्छ।’

क्रिस्टियनले एउटा प्रभावकारी र सुरक्षित भ्याक्सिन बनाउनका लागि थुप्रै नियम तथा गाइडलाइनहरु बनाइएको उल्लेख गरे। उनले भने, ‘यी नियम तथा गाइडलाइन पूरा गर्न आवश्यक छ अनिमात्र बिरामीले असरदार र प्रभावकारी भ्याक्सिन पाउनेछन्।’

डब्ल्यूएचओका अनुसार हाल विश्वभर २५ वटा भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ। जब कि अझै पनि १३९ भ्याक्सिन प्रिक्लिनिकल चरणमै छन्। – एजेन्सी