काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप टिकटक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन्। 

यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो। झन्डै दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग अमेरिकाको विवाद चुलिइरहेको छ। 

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। 

विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन्।

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ। राष्ट्रपति ट्रम्पको यो आदेशपछि अब माइक्रोसफ्टले खरिदप्रक्रिया ४५ दिनअगावै सक्नुपर्ने देखिएको छ। – एजेन्सी