काठमाण्डौ । इजरायलले कोरोनाभाइरसविरुद्ध प्रभावकारी असर गर्ने भ्याक्सिन विकास गरेको दाबी गरेको छ।

इजरायलले विकास गरिएको भनिएको भ्याक्सिनलाई मावनपरीक्षण गर्न सरकारी अनुमतिको पर्खाइमा रहेको जनाएको छ। यो भ्याक्सिनको मानवपरीक्षणलाई सम्भवत शरदकालीन छुट्टीपछि गर्न सकिने जनाइएको छ। 

इजरायलका रक्षामन्त्री बेनी गान्टजले इजरायल इन्स्टिच्युट अफ बायोलोजिकल रिसर्चको भ्रमणको गरिसकेपछि यो भ्याक्सिनका बारेमा जानकारी लिएका छन्। इन्स्टिच्युटका निर्देशक प्राध्यापक स्यामुयल शपिराले मन्त्री गान्जटलाई यो नयाँ इजरायली भ्याक्सिनका बारेमा जानकारी दिएका थिए। 

इजरायलको रक्षा तथा प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै शानदार भ्याक्सिन बनिसकेको र यसलाई मानिसमा परीक्षण गर्ने प्रक्रिया जारी रहेको जनाएको छ। इन्स्टिच्युटका निर्देशकले शरदकालीन छुट्टीपछि यो भ्याक्सिनको मानवपरीक्षणको कार्य गरिने बताए। 

शपिराले आफ्नो इन्स्टिच्युटले बनाएको भ्याक्सिनप्रति गर्व लागेको बताए। तर उनले भ्याक्सिन कहिलेसम्म प्रयोगमा आउने भन्नेबारे भने केही पनि जानकारी उपलब्ध गराएनन्। 

यसअघि मे महिनामा इजरायलका रक्षामन्त्री नफताली बेननेटले देशको डिफेन्स बायोलोजिकल इन्स्टिच्युटले कोरोनाविरुद्धको भ्याक्सिन बनाइसकेको बताएका थिए। उनले कोरोनाविरुद्धको एन्टीबडी तयार गर्न ठूलो सफलता हात लागेको बताएका थिए। 

यस्तै बेननेटले कोरोनाविरुद्धको भ्याक्सिनको विकासको चरण पूरा भएको र अनुसन्धानकर्ताहरु यसको पेटेन्ट र व्यापक मात्रामा उत्पादनका लागि तयारी गरिरहेको बताएका थिए। उनका अनुसार यो एन्टीबडीले मोनोक्लोन तरिकाबाट कोरोनामाथि हमला गरी संक्रमितको शरीरभित्र रहेको कोरोनाभाइरसलाई नष्ट गर्ने गर्दछ।