काठमाण्डौ । नेपाली बैंकिङ उद्योगको जाइन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताका लागि यो वर्ष सुखद नहुने संकेत देखिएको छ । कारण, यो बैंकको आर्थिक वर्ष २०७६/७७ मा वितरणयोग्य मुनाफा घटेर ६५ करोड २३ लाखमा सीमित बन्न पुगेको छ । 

बैंकको हालको चुक्तापूँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । प्रिमियको रुपमा ३ करोड २५ लाख रुपैयाँ छ । प्रिमियमको रकम समेत लाभांशको रुपमा वितरण गर्न मिल्छ । प्रिमियमलाई समेत वितरणयोग्य मुनाफामा जोडेर हेर्दा यो वर्ष यो बैंकले ५ प्रतिशत हाराहारीमा लाभांश वितरण गर्न समेत कठीन देखिन्छ । 

केही ठूला लोन डूबेका कारण र कोरोना कहरका बीच केही नियामकीय व्यवस्था थपिएर ठूलो रकम प्रभिजनमा राख्नुपर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य मुनाफामा पहिरो गएको हो । 

इम्पेयरमेट चार्जेज तथा अन्य घाटा व्यवस्थापनका लागि बैंकले यो अवधिमा १ अर्ब ८८ करोड प्रभिजन तथा विभिन्न खालको रिजर्बहरुमा राख्नुपरेको छ । यसले समेत वितरणयोग्य मुनाफामा निकै ठूलो प्रभाव परेको देखिएको हो । यो बैंकले मेलम्चीमा लगानी गरेको १०० करोड रुपैयाँको प्रोभिजनिङ गर्नुपर्ने दायीत्व समेत थपिएपछि यसले समेत वितरणयोग्य मुनाफा हिट गरेको देखिन्छ । 

बैंकहरुलाई असोजसम्म उठेको रकम समेत अघिल्लो आर्थिक वर्षकै लेखाङ्कनमा राख्ने छुट राष्ट्रबैंकले दिएको छ । यसको अर्थ असोजसम्म यो बैंकले उठाएको रकम समेत थपिने हुनाले अहिलेको वितरणयोग्य बढ्नसक्ने देखिन्छ । यदि त्यसो भयो भने सेयरधनीले पाउने रिटर्न पनि बढ्नेछ । 

समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । 

यस्तै, अघिल्लो वर्ष ३ अर्ब ३२ करोड रुपैयाँ रहेको नाफा घटेर यो वर्ष २ अर्ब ५७ करोडमा सीमित बन्न पुगेको छ ।

अघिल्लो वर्ष ४ अर्ब १३ करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष ३ अर्ब ६३ करोडमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ५ अर्ब ७६ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब १७ करोड थियो । 

बैंकले अघिल्लो वर्ष १० अर्ब ५३ करोडमा सीमित रिजर्बको आकार बढाई ११ अर्ब ४१ करोडको उचाई चुमाएको देखिएको छ । 

समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंको खराब कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २.७८ प्रतिशत थियो । 

प्रतिसेयर आम्दानी १८.०७ मा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २६.४३ रुपैयाँ थियो । 

यो अवधिमा बैंकको कस्ट अफ फण्ड घटेर ५.८५ प्रतिशत, सीडी रेसियो थोरै बढेर ७२.९३ प्रतिशत, असार अन्तिमको बेस रेट ७.५१ प्रतिशत, पीई रेसियो २४ गुणा, प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ कायम भएको छ ।