सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम र ३३ अर्बको बजेट कार्यान्वयनको चरणमा छ । प्रदेश सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको दाबी गरेको छ । तर कोरोना संक्रमण पनि फैलिँदो अवस्थामा छ । जसले गर्दा योजना कार्यान्वयनमा चुनौती छ । प्रदेश सरकारको बजेट तथा नीति, कार्यक्रम र कोरोना महामारी व्यवस्थापनका बारेमा बिजशाला सुदूरपश्चिम प्रतिनिधि जीवन बिष्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग कुराकानी गरेका छन् :

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारितपछिको अवस्था के छ ?
चालु आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्बको बजेट ल्याएका छौं । ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रदेशसभाबाट पारित भइसकेको छ । १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्व ७२ करोड ८४ लाख पुँजीगत बजेट छ । अहिले अब कार्यान्वयनको चरणमा छौं । यसलाई कसरी बढीभन्दा बढी कार्यान्वयन गर्न सकिन्छ भन्ने गृहकार्य गरिरहेका छौं । 

यस वर्षका मुख्य प्राथमिकता के छन् ? तिनलाई कसरी कार्यान्वयन गर्न सकिन्छ ? 
स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकास प्राथमिकतामा छन् । त्यसमा पनि स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रम छन् ।

हामीले त्यसमा धेरै कुराहरू नयाँ समेटेका छौँ । मुख्यतः स्वास्थ्यलाई हेरेका छौँ, कृषिलाई हेरेका छौँ, अहिलेको आवश्यकता हेरेर स्वास्थ्यलाई अगाडि बढाउनुपर्ने छ । सबै जिल्लाका अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउनुपर्ने र केही नयाँ अस्पताल निर्माण गर्नुपर्ने, खास गरी ट्रमा सेन्टर, संक्रामक रोगसम्बन्धी अस्पतालको कुरा छ, यो लगायत स्थानीय तहको समन्वयमा अस्पताल निर्माण गर्नुपर्ने कुराहरू हाम्रो नीति तथा कार्यक्रममा छन् ।

त्यसैगरी, हामीले कृषिलाई प्राथमिकतामा राखेका छौँ, कृषिमा आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नु हाम्रो उद्देश्य हो । खासगरी कोरोनाको महामारीका कारण हाम्रा नेपाली दाजुभाइ आफ्नै ठाउँमा आएका छन् । अब उनीहरूलाई स्थानीयस्तरमै रोजगारी प्रदान गर्नका लागि हामीले त्यहीअनुसारको नीति तथा कार्यक्रम बनाएर बजेट तयार गर्दैछौं । हामीसँग बजेट धेरै त छैन, तर पनि हामीले कृषिलाई २/३ सेक्टरतिर लाने सोचेका छौं । कृषिलाई रोजगारीसँग जोड्ने कुरा, उत्पादन बढाउने कुरा र कृषिमा काम गर्नेलाई ऋण पनि उपलब्ध गराउने कुराहरू छन् ।

योसँगै पर्यटनका कुराहरू छन्, संघीय सरकारको जडीबुटी कम्पनीसँग पनि हाम्रो कुरा भइसकेका कारण हाम्रै प्रदेशमा जडीबुटी कम्पनी स्थापना गर्ने योजना छ । यो सँगसँगै भौतिक पूर्वाधारमा हामीसँग बहुबर्षे सडकका कुराहरू छन्, ९ वटै जिल्लामा गौरवका सडक निर्माणका कुरा छन् । हामीले अब नयाँ सडक काट्ने मात्रै हैन कि, काटेका सडक पिच गर्नेतिर हाम्रो जोड छ । योसँगै सामाजिक सुरक्षाका कुरा छन्, धेरै कुरा हामीले नयाँ सामेल गरेका छौं, हामी त्यसैअनुसार अघि बढ्दैछौं ।

अनि कार्यान्वयन ? 
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा ७१.८० प्रतिशत पुँजीगत खर्च गरेको छ । कोरोना महामारीकाबीच पनि हामी विकास खर्चलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर थियौं ।

समयमै बजेट खर्च गर्न नसक्नुमा कोरोना महामारी पनि प्रमुख कारण बन्यो । समय अनुकूल नहुँदा असारमा बढी बजेट खर्च गर्नुपरेको हो । चालू आ.ब.मा भने असारे विकास अन्त्य गरेर छाड्छौं । पहिलो चौमासिकबाट हामीले खर्च गर्न सुरु गर्नेछौं । यसका लागि हाम्रा संयन्त्रहरूलाई तयारी अवस्थामा राखेका छौं । चालू आबमा समयमै आफू मातहतका कार्यालयलाई अख्तियारी पठाउने तयारीमा छौं । कार्यविधि बनाएर चाँडै अख्तियारी पठाउने विषयमा छलफल भइरहेको छ ।

अहिले रोजगारी पनि मुख्य प्राथमिकतामा छ । अधिकांश नागरिक कोरोना कहरले घर फर्किएका छन् । अब यिनलाई स्थानीयस्तरमै कसरी रोजगारीको दिन सकिन्छ ?  
चालु वर्षमा कोरोना भाइरसबाट प्रभावित भएकाहरूलाई लक्षित गर्दै ‘रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ’ अभियान पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममै उल्लेख गरेका छौं । कोरोना कहरले रोजगारी गुमेकाहरूलाई लक्षित गर्दै हामीले थुप्रै कार्यक्रमहरू ल्याएका छौं । हामीले स्वदेशमै उद्यम गर्न सहुलियत योजनाहरू पनि ल्याएका छौं ।

के छन् त्यस्ता योजना ? 
कृषिबाट क्रान्ति गर्नका लागि कृषि एकीकृत कार्यक्रमहरूमा जोड दिएका छौं । भारतबाट केही सीप सिकेर आएका व्यक्तिहरूलाई न्यून ब्याजमा सरकारले रकम दिने । त्यसका लागि हामीले डेढ अर्ब रुपियाँको कोष खडा गरेका छौं । त्यसलाई डेढ महिनाभित्र सञ्चालन गर्दैछौ । यसले गर्दा रोजगारी गुमेकाहरूले आफ्नै क्षेत्रमा आफै केही व्यवसाय अथवा उद्यम गर्न सक्छन् । यसले गर्दा सामान्य रोजगारीका लागि पनि भारत अथवा तेस्रो मुलुक जानुपर्ने बाध्यताको अन्त्य हुन्छ ।

कृषि मुख्य प्राथमिकतामा छ, तर किसानले समयमै मल, बिउ नपाउने समस्या यथावत् नै छ, अनि कसरी सम्भव छ कृषिबाटै क्रान्ति ?
यसमा केही समस्या कहिलेकाहीँ आउँछन् । त्यसलाई हामी हल गर्ने प्रयासमै छौं । बिउको समस्याभन्दा पनि रासायनिक मलको समस्या हुन्छ । यो केन्द्र सरकारले नै सप्लाई र खरिद गर्ने भएका कारण यसमा समस्या देखिएको हो । संघीय सरकारले समयमै सप्लाई गर्न सक्दैन भने प्रदेश सरकारले सप्लाई गर्न सक्छ भनेर पनि कुरा चलाइरहेका छौं । कृषकका समस्या समाधानका लागि संघीय सरकारसँग छलफल भइरहेको छ । हाम्रो सुदूरपश्चिममा खेतीपातीको काम सुरु भइसक्यो, अब हामीले समयमै  कृषकका लागि आवश्यक मल र बिउ सप्लाई गर्न सक्यौँ भने यो समस्या हल हुन्छ ।

योजनाहरू राम्रै भए पनि कार्यान्वयनको चरण कमजोर नै देखिन्छ, प्रतिपक्षी दलले पनि विगतको निरन्तरता मात्रै भनेको छ प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई ?
यसमा के हुन्छ भने, कयौं कार्यक्रम निरन्तरतामै जान्छ । जस्तै हामीले बहुबर्षे ठेक्का लगायौँ भने सडक निरन्तरतामा जान्छन् । सामाजिक कार्यहरू विपन्न, महिला, जनजातिलगायतका सामाजिक कार्यक्रम निरन्तरतामै जान्छन् । कृषिका कार्यक्रम गत वर्ष हामीले एकीकृत कृषि कार्यक्रम, पर्यटन कोरिडोरका कुरालाई निरन्तरता नै दिएका छौं । यसमा नयाँ कार्यक्रम पनि जोडिन्छन् ।

प्रतिपक्षले भन्ने नै हो, उसको धर्म पनि त्यही हो । जहाँसम्म कार्यान्वयनको कुरा छ, यसमा केही समस्या रहेको नै छ । पटक पटक भन्दै आएका छौं कार्यान्वयनको प्रक्रिया कसरी सुधार गर्न सकिन्छ, हामी अभ्यासमै छौं । यसका लागि हामीले नयाँ के सोचेका छौं भने, आवश्यक परेका ठाउँमा जिल्लामा प्रदेशका कार्यालय स्थापना गरेर पनि कार्यान्वयनको पाटो बलियो बनाउँछौं । र लोकसेवा गठन गरेर कर्मचारीको व्यवस्था गरेरै भए पनि कार्यान्वयनमा जोड दिन्छौं, र पहिलो चौमासिकमा गर्नुपर्ने कार्य अनिवार्य गर्ने, यदि त्यो गरेन भने पहिलो चौमासिकमै सो तह बजेट कट्ने गरी हामी छलफल गरिरहेका छौं । 

मैले फरक प्रसङ्ग जोडे मुख्यमन्त्रीज्यू, प्रदेश सरकार त कोरोना व्यवस्थापनमा चुक्यो नि ? 
हैन, कोरोना व्यवस्थापनमा प्रदेश सरकार चुकेको छैन । हामीले सुरुवाती चरणबाटै प्रभावकारी भूमिका खेल्यौं । जोखिम बढेलगत्तै हामीले सीमा नाकामा कडाइ गर्यौं । नागरिकको स्वास्थ्य परीक्षणका लागि तत्काल पिसिआर मेसिनको व्यवस्था मिलायौं । क्वारेन्टिन, आइसोलेसन निर्माण गर्यौं । सबैभन्दा पहिले सुदूरपश्चिममा संक्रमण फैलिन थालेपछि हामीले सबैसँग सहकार्य गरेर व्यवस्थापन चुस्त पार्यौं । संक्रमितहरू निको भएर घर पनि फर्किए र केही दिनसम्म संक्रमण रोक्न पनि सकियो । त्यतिबेला नै हाम्रा नागरिकलाई ल्याउन सकिएको भए सायद यति जोखिम हुन्थेन होला, एउटा समस्या त्यहाँ देखियो । अहिले जसरी हाम्रा नागरिक भारतबाट हुलका हुल आइरहेका छन्, त्यहाँनिर संक्रमण पनि फैलिँदै गएको  गएको हो । सरकारको तर्फबाट हामीले सबै काम प्रभावकारी ढङ्गले गरेका छौं । 

तर भारतबाट आउने क्रम त अझै रोकिएको छैन, अहिले आइरहेकाहरूलाई परीक्षणबिनै नाकाबाट सिधै घर पठाइँदैछ । यसले जोखिम बढाउँदैन ? 
हैन, हामीले भारतबाट आउनेहरूलाई परीक्षणबिनै घर पठाएका छैनौं । उहाँहरूलाई सुरक्षित तवरले होम क्वारेन्टिनमा बस्न भनिरहेका छौं । होम क्वारेन्टिनमा बसेको एकदेखि दुई साताको अवधिमा स्वास्थ्यकर्मीहरू घर घरमै पुगेर उहाँहरूको स्वास्थ्य परीक्षण गर्नुहुन्छ । यसअघि भने १४ देखि २१ दिनसम्म हामीले नागरिकहरूलाई क्वारेन्टिनमा राखिरहेका थियौं । तर पछिल्लो समय स्थानीय तहरुले क्वारेन्टिनमा राख्न छाडेका छन् । अहिले विश्व स्वास्थ्य सङ्गठनकै मापदण्डअनुसार हामीले होम क्वारेन्टिनमा पठाइरहेका छौं । स्थानीय तहहरुलाई पनि प्रभावकारी ढङ्गले लाग्न अनुरोध गरेका छौं । अब आउने संकटको सामना गर्न हामी अझ सशक्त भएर लागेका छौं ।

प्रदेशमा परीक्षणको दायरा सुस्त छ, त्यहीँमाथि बेला–बेलामा स्वास्थ्य सामाग्री अभावका कारण परीक्षण नै रोक्नुपर्ने अवस्था पनि आउँछ । यतातिर प्रदेश सरकारको किन ध्यान जान नसकेको ?
हैन, कोरोनाको महामारीविरुद्ध सुदूरपश्चिम प्रदेश सरकाले आवश्यक कदम चालेकै छ । हाम्रो प्रदेशमा आरडीटी र पीसीआर पद्धतिबाट परीक्षण भइरहेको छ । अब स्वास्थ्य उपकरण अभावका कारण परीक्षण रोकिँदैन । हामीले परीक्षणको दायरा बढाउन प्रयोगशालामा जनशक्ति पनि थपिसकेका छौं । स्वास्थ्य उपचारलाई सहज बनाउन र परीक्षण बढाउन स्वास्थ्य उपकरणहरू खरिद पनि गरेका छौं । परीक्षणकै दायरा बढाउन धनगढीका दुई स्थानमा पिसिआर मेसिन राखेका छौं । डोटी र बैतडीमा पनि मेसिन जडानको अन्तिम चरणमा छन् । डडेल्धुरामा निजी क्षेत्रबाट मेसिन जडान भइसकेको छ । हामी कोरोना व्यवस्थापनमा प्रभावकारी ढङ्गले लागिपरेका छौं । 

उसो भए, कोरोना महामारीविरुद्ध जुध्न प्रदेश सरकार तयार छ ?
हो, हामीले गर्न सक्ने तयारी सबै गरेका छौं । पछिल्लो परिस्थिति जो छ, योसँग जुध्न सबै सरकारले आफ्नो तयारी गरेको छ । यसका लागि नागरिकहरू सचेत बन्न आवश्यक छ । सम्पूर्ण नागरिकमा सामाजिक दूरी कायम राख्दै, अनिवार्य रूपमा साबुन–पानीले हात धुन र मास्क स्यानिटाइजरको प्रयोग गर्न अपील गर्दछु ।