काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउने सहमतिअनुरुप अब सरकारबाट अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने निश्चित भएको छ । 

प्रधानमन्त्री केपी ओलीसँग उनको दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले लामो समयदेखिको संवादहीनता तोड्दै छलफल गरेपछि सत्तारुढ दलको विवाद समाधानका खाका कोर्न दोश्रो तहका नेताहरु यतिबेला सक्रिय छन् । 

प्रचण्ड र ओलीले दुुवै खेमाका नेताहरुको सहभागितामा एक कार्यदल गठन गरेका थिए । सो कार्यदलले सहमतिको खाका कोरिरहेको छ । सोही खाकाअनुसार दुई अध्यक्ष(ओली र प्रचण्ड)बीच सहमति हुन लागेको कार्यदलका एक सदस्यले दाबी गरेका छन् । 

ती सदस्यका अनुसार कार्यदलले कोरिरहेको सहमतिको अन्तिम खाका तयार हुन अझै एकदुई दिन लाग्छ । तर, हालसम्म प्रधानमन्त्रीको रुपमा ओलीले पूरा कार्यकाल सरकार चलाउने, प्रचण्डलाई आगामी महाधिवेशनसम्म अधिकारसहितको शक्तिशाली अध्यक्ष दिने र आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि ओलीले प्रचण्डलाई सहयोग गर्ने लगायतका बुँदामा दुई पक्षका नेताहरुको सहमति बनिसकेको छ । ओली महाधिवेशनपछिको अध्यक्ष र आगामी सरकारको प्रधानमन्त्री पदका लागि प्रचण्डलाई सहयोग गर्न समेत तयार देखिएका ती सदस्यले दाबी गरेका छन् । 

उनका अनुसार सहमति कार्यान्वयनका लागि छिटोमा एकहप्ताभित्रै सरकारमा सहभागी मन्त्रीहरु हेरफेर हुने संभावना छ । सरकारमा प्रचण्ड, माधव नेपाल र बामदेव गौतम निकट नेताहरुलाई मन्त्रीको रुपमा सहभागी गराउने खाका समेत कोरिएको छ । 

‘एकहप्ताभित्र सरकारका मन्त्रीहरुको हेरफेर हुनसक्ने संभावना अधिक देखिन्छ ।’ कार्यदलका ती सदस्यले बिजशालासँग भने–‘पार्टीका विभिन्न शक्तिहरुको सन्तुलन मिल्ने गरी सरकारमा मन्त्रीहरुको हेरफेर हुन लागेको हो ।’ 

आर्थिक जगत र सेयर बजारका लागि समेत अति चासोको विषय मन्त्रीमण्डल पुनर्गठन हुँदा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउँछन् या पाउँदैनन् भन्ने छ । स्रोतका अनुसार मन्त्रीमण्डल पुनर्गठन हुँदा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले निरन्तरता पाउने छैनन् । 

‘मन्त्रीमण्डलमा अब सहभागी हुनेमा पार्टीको सचिवालयका नेताहरुले प्राथमिकता पाउने एकखालको सहमति बनिसकेको छ ।’ स्रोतले भन्यो–‘यसो हुँदा अर्थमन्त्रीको रुपमा डा. खतिवडा रहने सवाल नै उठ्दैन । उनी बाहिरिन्छन् ।’ 

अर्थमन्त्री डा. खतिवडा मन्त्रीको रुपमा सहभागी भइराख्नका लागि राष्ट्रियसभाको सदस्य कायम भइराख्नुपर्छ । तर, रिक्त राष्ट्रियसभाको एक पदमा प्रधानमन्त्री ओलीले खतिवडालाई सिफारिस गरेका छैनन् । राष्ट्रियसभा सदस्यको पद हुँदै सरकारको नेतृत्व गर्नेसम्मको चाहना पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रकट गरेपछि खतिवडालाई काखी च्याप्न ओलीलाई अप्ठ्यारो भएको छ । यसो हुँदा अबको दिनमा समेत राष्ट्रियसभाको सदस्य बन्न डा. खतिवडाले पाउँदैनन् । राष्ट्रियसभाको सदस्यमा कायम नरहेको अवस्थामा पनि कुनै पनि व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अन्तरगत राष्ट्रियसभाको सदस्य पदको अवधि सकिएर पनि डा. खतिवडा अर्थमन्त्रीको रुपमा काम गरिरहेका छन् । तर, त्यो ६ महिनाको अवधि पनि सकिन लागेको र यही बेला पार्टीमा सहमतिका लागि कतिपय नेताहरुलाई शक्तिशाली मन्त्रालय दिनुपर्ने परिस्थिति बनेकोले उनको बहिर्गमन निश्चितप्राय रहेको स्रोतहरु बताउँछन् । 

उसो भए अबको अर्थमन्त्री बन्ने पालो कसको त ? धेरैमा जिज्ञासा हुनसक्छ । सत्तारुढ दलभित्रको विवाद समाधानका लागि गठित कार्यदलका एक अर्का सदस्यका अनुसार अबको अर्थमन्त्रीमा विष्णु पौडेलको संभावना प्रवल छ । उनले यसअघि पनि अर्थमन्त्रालयको कमान सम्हालिसकेका छन् ।

सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्रीमा मन गरेका भए पनि पार्टीभित्रको समीकरण मिलाउन र सचिवालयकै नेतालाई मन्त्री बनाउने कुरामा प्राथमिकता दिने सहमतिका कारण विष्णु पौडेल नै अर्थमन्त्री हुने संभावना देखिने ती सदस्यले जानकारी दिए । 

अर्थमन्त्रीसहित यसपटक केही महत्वपूर्ण मन्त्रालय हाँकिरहेका मन्त्रीहरुले समेत विदा पाउनेछन् । ओली निकटका केही मन्त्रीले विदा पाई त्यसमा प्रचण्ड, नेपाल र गौतम खेमाका नेताहरुको प्रवेश हुनेछ ।