काठमाण्डौ । चीनको फार्मा कम्पनी सिनोफार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउने दाबी गरेको छ। 

सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले सञ्चारकर्मीसँग भ्याक्सिनको तेस्रो चरणको ट्रायल यूएईमा भइरहेको र डिसेम्बरसम्म बजारमा आउने दाबी गरेका छन्। यो भ्याक्सिनको ट्रायलका क्रममा अध्यक्ष लिउ आफैँले दुई डोज लगाएका थिए। ‘अहिलेसम्म मलाई यसबाट कुनै साइड इफेक्ट भएको छैन’, उनले भने, ‘यसको मतलब यो भ्याक्सिनले प्रभावकारी रुपमा काम गर्ने आशा गर्न सकिन्छ।’

चीनको बेइजिङ र वुहान सहरमा दुई यस्ता कम्पनी छन्, जसले वर्षमा यो भ्याक्सिनको क्रमशः १०.२ करोड र १० करोड डोज उत्पादन गर्न सक्छ। यो भ्याक्सिनको दुई डोजको मूल्य करिब १ हजार युआन अर्थात लगभग १७ हजार रुपैयाँ पर्ने बताइएको छ। 

अहिले विश्वभर करिब २ सयवटा कोरोनाविरुद्धको भ्याक्सिनमा ट्रायल भइरहेको छ। तीमध्ये २० वटाभन्दा बढी मानिसमा परीक्षणका लागि तयारी अवस्थामा छन्। 

हासम्म विश्वमा यो भाइरसबाट २ करोड २० लाखको हाराहारीमा मानिसहरु संक्रमित भइसकेका छन्। तीमध्ये ७ लाख ७७ हजार बढी मानिसको ज्यान गइसकेको छ। – एजेन्सी