काठमाण्डौ । “शान्ति, सम्बृद्धि तथा स्वच्छ वाताबरणका लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सुरु हुन लागेको ''तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३'' को तयारी पूरा भएको छ । 

नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिनसम्म चल्ने यो मेला उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ । 

मेलामा भाग लिन  आउने  बिदेशी पाहुनाहरु नेपाल आइसकेका र उनीहरुले ल्याउने प्रबिधिका सामाग्रीहरु पनि नेपाल ल्याइसकिएको जानकारी दिंदै फ्यान अध्यक्ष कुमार कसजुले प्रदर्शनी हलमा ब्यबसायीले आफ्ना स्टल सजाउने काम सकिसकेकोे बताए । 

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ । 

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घरआँगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने एशोसिएशनको दाबी छ । 

एशोसिएसनका महासचिब मिबहादुर तामाङले  प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको बताए  ।