काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणमा लागि उपत्यकामा जारी निषेधाज्ञा बेला पनि रेमिट्यान्स काउन्टरहरु खोल्न नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन दिएको छ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले वैदेशिक रोजगारमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा सहज भुक्तानीका लागि रेमिट्यान्स काउन्टरहरु खोल्न निर्देशन दिएको हो। काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा गत भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाका कारण उपत्यकालगायत मुलुक रेमिट्यान्स सेवा प्रभावित भएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।
अहिले स्वास्थ्य संकटजस्तो विषम परिस्थितिमा पनि विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्न सक्ने देखिएको भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञालगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषणसम्बन्धी वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिएको छ। काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गर्न पनि राष्ट्र बैंकले भनेको छ।
राष्ट्र बैंकले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्यनूतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउन सूचनामा भनिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फन्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न निर्देशन दिएको छ। सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन केन्द्रीय बैंकको सुझाव छ। स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी भीडभाड नगर्न पनि सूचनामा भनिएको छ।
2 minutes ago
14 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago