काठमाण्डौ । भिडियो सेयररिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेको छ।

यसअघि ट्रम्प प्रशासनले एउटा कार्यकारी आदेश जारी गर्दै टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्ससँग कुनै पनि अमेरिकी कारोबारमाथि रोक लगाएको थियो। बाइट डान्स लिमिटेडले अमेरिकाको यो आरोपलाई नकार्दै टिकटक अमेरिकाको सुरक्षाका लागि खतरा नरहेको स्पष्ट पारेको छ। 

३९ पुष्ठको अभियोगको कागजातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सेक्रेटरी अफ कर्मस विल्बर रोस र यूएस डिपार्टमेन्ट अफ कमर्सलाई प्रतिवादीका रुपमा सूचीबद्ध गरिएको छ। कागजातका अनुसार टिकटकले अमेरिकी अधिकारीहरुमाथि बिना सबुत कम्पनीको अधिकार हनन गरेको आरोप लगाएको छ। 

दर्ता गरिएको मुद्दामा पाचौँ संशोधनमा दिइएको ग्यारेन्टीको बाबजुत पनि कम्पनीमाथि प्रतिबन्ध लगाउनुभन्दा अगाडि कुनै पनि प्रकारको नोटिस नदिइएको र आफ्नो कुरा राख्ने मौका पनि नदिइएको जनाइएको छ। कम्पनीका अनुसार जुन २०२० सम्म देशमा एक महिनामा टिकटक प्रयोगकर्ताको संख्या ९ करोड १९ लाख ३७ हजार ४० पुगेको थियो। १०० मिलियन अमेरिकी नागरिक यो एपको प्रयोग स्वयमलाई प्रकट गर्न र एक–अर्कासँग जोड्नका लागि प्रयोग गर्ने गर्दछन्। 

ट्रम्पको कार्याकारी आदेशअनुसार बाइट डान्समाथि अमेरिकामा सेप्टेम्बरको मध्यसम्म पूर्ण रुपमा प्रतिबन्ध लाग्नेछ। अमेरिकाले टिकटकमाथि आफ्नो एपका माध्यमबाट अमेरिकी प्रयोगकर्ताहरुको डेटा चीन सरकारलाई प्रदान गर्ने गरेको आरोप लगाएको छ। तर बाइट डान्सले अमेरिकाको यो आरोपलाई आधारहीन भन्दै नकारिरहेको छ। 

टिकटकले आफूले ट्रम्प प्रशासनसँग एक वर्षदेखि जोडिने प्रयास गरेको तर ट्रम्प प्रशासनले तथ्यहरुमाथि ध्यान नदिने गरेको जनाएको छ। बाइट डान्सले अमेरिकी नियमहरुको उल्लंघन नगरेका पनि जनाएको छ।