काठमाण्डौ । कोरोनाभाइरसबाट बालबालिकामा हुने गम्भीर संक्रमण ‘दुर्लभ’ र यसबाट ज्यानै जानु झनै ‘अति दुर्लभ’ रहेको एक अध्ययनले देखाएको छ।

बेलायतमा बिहीबार प्रकाशित एउटा शोध प्रतिवेदनअनुसार बालबालिकामा कोरोनाको असर विषयमा भने अनुसन्धानबाट यस्तो देखिएको हो। यो शोध बेलायतका अस्पतालहरुमा भर्ना गरिएका कोरोना संक्रमित बालबालिकामाथि गरिएको थियो।

अस्पतालहरुमा भर्ना गरिएकामध्ये ६ बालबालिकाको यो संक्रमणबाट मृत्यु भएको थियो। जुन कुल संक्रमित बालबालिकाको संख्याको हिसाबले १ प्रतिशतमात्र रहेको अध्ययनले देखाएको छ।

जो बालबालिकाले यो संक्रमणबाट ज्यान गुमाए उनीहरुमा पहिलेदेखि अन्य कुनै न कुनै गम्भीर रोग वा स्वास्थ्य समस्या रहेको हुन सक्ने अनुसन्धानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धान टोलीको नेतृत्व गरिरहेका चिकित्सकमध्येका एक बेलायतस्थित युनिभर्सिटी अफ लिभरपुलमा आउटब्रेक मेडिसिन एन्ड चाइल्ड हेल्थका प्रोफेसर म्यालकम सेम्प्लेले सामान्य र स्वस्थ अवस्थाका बालबालिकामा कोरोना संक्रमणले कुनै हानी पुर्याउँदै भन्नेमा आफूहरु आश्वस्त रहेको सुनाए। ‘यो अनुसन्धानबाट यस्तो सन्देह उत्पन्न भएको छ कि बालबालिकामा कोरोनाले गम्भीर रुप लिनु दुर्लभ हो’, उनले भने, ‘यद्यपि यसबाट ज्यान गुमाउने बालबालिकाको संख्या न्यून छ, त्यसैले अब अभिभावकहरुले आफ्ना बालबालिकालाई स्कुल पठाउनमा कुनै खतरा नमाने हुन्छ।’

विश्वभर कोरोना भाइरसबाट १ वा २ प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरुमात्र प्रभावित छन्। तीमध्ये पनि अधिकांशमा सामान्य लक्षणमात्र देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यो अनुसन्धानमा १९ वर्षभन्दा कम उमेरका ६५१ बालबालिकालाई समेटिएको थियो। यी बालबालिकालाई जनवरी १७ देखि जुलाई ३ सम्म बेलायतका विभिन्न अस्पतालमा कोरोना संक्रमण भएपछि भर्ना गरिएको थियो। – एजेन्सी