काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीकै रुपमा वा त्यो संभव नभए महत्वपूर्ण अवसर दिएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो टिममै राख्ने संकेत गरेका छन् । 

अर्थमन्त्री डा. खतिवडा संवैधानिक रुपमा मन्त्रीको रुपमा आगामी भदौ २० गतेसम्म मात्र पदमा रहनेछन् । त्यो अवधिसम्म राष्ट्रियसभाको रिक्त एक सिटमा उनको नाम सरकारले सिफारिस नगरे उनी मन्त्रीबाट स्वतः पदमुक्त हुनेछन् । 

अर्थमन्त्रीको रुपमा डा. खतिवडाले निरन्तरता नपाउने सर्वत्र चर्चा चलिरहेको बेला प्राइम टेलिभिजनलाई केहीबेरअघि अन्तर्वार्ता दिंदै प्रम ओलीले खतिवडाले अर्थमन्त्रीको रुपमा राम्रो काम गरेका भन्दै प्रशंसा गरेका हुन् । यसलाई कतिपयले अर्थमन्त्रीको रुपमा ओलीले डा. खतिवडालाई नै निरन्तरता दिन खोजेका हुन् भनी विश्लेषण गरिरहेका छन् । तर, नेकपाका केही नेताहरुले भने डा. खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिन नसक्ने अवस्थामा समेत ओलीले खतिवडाले चाहेजस्तो सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा आफ्नै टिममा राखिराख्ने चाहनाको रुपमा बुझ्नुपर्ने बताएका छन् । 

प्रश्नकर्ता ऋषि धमलाले प्रम ओलीलाई 'डा. युवराज खतिवडा अर्थमन्त्रीको रुपमा निरन्तर हुन्छन् या हुँदैनन् ?' भनेर प्रश्न सोधेका छन् । उत्तरमा प्रम ओलीले भनेका छन्-'२-४ दिन हेरौं न । २० गते आउन लागिहाल्यो ।' 

'खतिवडालाई फेरि सांसद बनाउन लाग्नुहुँदैछ ?' भन्ने प्रश्नमा प्रम ओलीले थपेका छन्-'त्यो विषयमा अहिले नै मैले भविष्यवाणी गर्नु त्यति उचित हुँदैन ।' 

'उहाँ(खतिवडा)को कामप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?' धमलाको अर्को प्रश्नमा ओलीले आफू सन्तुष्ट रहेको जवाफ दिएका छन् । 

'तर, धेरै ठाउँबाट उहाँको कार्यशैलीलाई लिएर असन्तुष्टिहरु बाहिर आइरहेका छन् नि ?' भन्ने प्रश्नको उत्तर दिने क्रममा ओलीले भनेका छन्-'सबैलाई सबैको कार्यशैली मन नपर्न सक्छ । कसको कसलाई के मन पर्दैन कसरी भन्न सकिन्छ र ? कसैलाई ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम मन पर्ला, कतिपयलाई मन नपर्ला । कसैलाई कसैको बोल्ने शैली मन पर्दैन, कसैलाई के मन पर्दैन । त्यो आफ्नो आफ्नो कुरा हो । कसैलाई बेस्सरी मनपर्छ । सत्य जे हो, त्यसअनुसार चल्नुपर्छ, म कसैले गरेको राम्रो वा नराम्रो कमेन्टको पछाडि चल्दिँन ।' 

ओलीले पार्टीभित्र विवाद समाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदन विपरीत सरकारका मन्त्रीहरु समेत परिवर्तन नहुनसक्ने, मन्त्रीमण्डल पुनर्गठन पनि नहुनसक्ने र केही मुख्यमन्त्रीहरु परिवर्तन पनि तत्काल नहुनसक्ने दाबी गरेका छन् । 

'हामी अस्थिरताको पक्षमा छैनौं । यस्तो अवस्थामा पनि स्थिरता देशमा हुनै नदिने ? कसलाई के हुनु परेको छ, कसलाई के ?'- मन्त्रीमण्डल पुनर्गठन तथा मुख्यमन्त्री परिवर्तनको विषयमा सोधिएको प्रश्नमा प्रम ओलीले भनेका छन् । 

प्रम ओलीले मन्त्रीमण्डल पुनर्गठनको विषयलाई अस्थिरता निम्त्याउन खोजिएको प्रयासको रुपमा विश्लेषण गर्न खोजे पनि पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले भने प्रष्ट रुपमा यो विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने सुझाएको छ । पार्टीभित्रै पनि २ वर्षे कार्यकाल पूरा गरिसकेका मन्त्रीहरुलाई विदा गरेर सबै गुट तथा समूहलाई भागबण्डा पुग्ने गरी नयाँलाई मन्त्री बनाइनुपर्ने आवाज बुलन्द भइरहेको छ । यिनै विषयमा निर्णय गर्न भदौ १८ गते सत्तारुढ नेकपाको सचिवालय बैठक डाकिएको छ । 

उता, अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिन नहुने विषयमा समेत पार्टीभित्र बहुमत छ । तर, यसअघिको पार्टी सचिवालयले रिक्त राष्ट्रियसभाको एक पदमा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पठाउन भनी गरेको निर्णय प्रम ओलीले कार्यान्वयनमा लगेका छैनन् । उपाध्यक्ष गौतमले राष्ट्रियसभामा जान मन गरेनन् भने मात्र फेरि डा. खतिवडालाई सांसद बनाएर मन्त्रीमा निरन्तरता दिइरहन संभव देखिन्छ । हालसम्म गौतमले आफू राष्ट्रियसभा सदस्य बन्ने वा नबन्ने विषयमा कुनै पनि अभिव्यक्ति सार्वजनिक गरिसकेका छैनन् ।