काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरससँगै जिउने बानी बसाल्न सकियो भने विना भ्याक्सिन यो महामारीमाथि विजयी हासिल गर्न सकिने जनाएको छ। 

डब्ल्यूएचओका युरोप निर्देशक ह्यान्स क्लुगले यस्तो धारणा सार्वजनिक गरेका हुन्। क्लुगले यो महामारीमाथि जित हासिल गर्न भ्याक्सिन नै एउटामात्र अस्त्र हो भन्नु उचित नहुने बताए। ‘यो महमारीमाथि हामी तब जित हासिल गर्न सक्छौँ जब हामी यसका साथ जिउने बानी बसाल्छौँ’, उनले भने। 

क्लुगले युरोप विना भ्याक्सिन पनि कोरोनाका साथ अगाडि बढ्न सक्ने दाबी गरे। ‘अब युरोपमा स्थानीयस्तरमा मात्र लकडाउन लगाउन आवश्यक हुन सक्छ’, क्लुगले भने, ‘मलाई लाग्दैन कि अब युरोपमा राष्ट्रियस्तरको लकडाउन लगाउन आवश्यक छ।’

युरोपमा देखिन लागेको यो महामारीको दोस्रो लहरमा पुनः राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको पनि क्लुगले बताए। ‘मलाई विश्वास छ कि अब राष्ट्रियस्तरमा लकडाउन लगाउन आवश्यक पर्ने छैन तर स्थानीयस्तरमा लगाइने लकडाउनलाई नकार्न सकिँदैन’, उनले भने। – एजेन्सी