काठमाण्डौ। नाडा अटोबोमाइल्स एसोसिएसन अफ नेपालले सरकारलाई निषेधाज्ञाबारे पुनर्विचार गर्न सरकारसँग अपिल गरेको छ।

नाडाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रण तथा रोकथामको अन्तिम अस्त्र निषेधाज्ञा वा लकडाउन नभएको भन्दै पुनर्विचार गर्न सरकारसमक्ष अपिल गरेको हो। ‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भइरहेको तर सत्यतथ्य यही नै हो भन्ने निश्चित भइसकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘दक्षिणपूर्वी एसियासँगै विश्वका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको देखिएको छ। त्यसैले यिनै तथ्यहरुलाई मनन गरी नेपालमा पनि निषेधाज्ञाका विषयमा पुनर्विचार गरिनुपर्छ।’

उच्च गतिमा संक्रमण बढिरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एकमात्र उपाय हो भन्ने आधार नदेखिने नाडाले स्पष्ट पारेको छ। 

लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाको निष्कर्ष छ। यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने निश्चित रहेको नाडाले उल्लेख गरेको छ। 

आजको दिनमा लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका र उनीहरुलाई आफ्नो उद्योगव्यवसायबाट नै वञ्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। ‘अब अति भयो, समयलाई बुझौँ, संसारलाई नियालौँ र अब काम गरौँ’, विज्ञप्तिमा भनिएको छ। 

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योगव्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्नेमा नाडाले जोड दिएको छ। ‘अब जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावपना प्रवल हुँदै गएको छ’, विज्ञप्तिमा उल्लेख छ। 

काठमाण्डौ उपत्यकामा गत भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको अवधिमा भदौ २४ गते राति १२ बजेदेखि सकिँदैछ ।