काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा विभिन्न देशहरु लागिपरेका छन्। भ्याक्सिन विकासमा अहिले रुस, चीन, अमेरिका, बेलायतलगायतका देश अग्रस्थानमा देखिएका छन्। 

हालसम्म ३६ वटा भ्याक्सिन क्लिनिकल परीक्षणका चरणमा छन्। त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको छ। यी भ्याक्सिनको परीक्षणमा प्रायः कोरोना संक्रमितलाई नै सम्मिलित गरिएका छन्।

बेलायतमा भने पहिलोपटक कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्वस्थ युवा स्वयंसेवकहरुलाई सहभागी गराउने तयारी गरिएको छ। अझै त्यतिमात्रै होइन ती स्वयंसेवकहरुलाई पहिले कोरोनाभाइरसबाट संक्रमित बनाउने अनि भ्याक्सिनको परीक्षण गर्ने तयारी भइरहेको खुलेको छ। यदि यस्तो भएमा बेलायत भ्याक्सिनको यो प्रक्रिया थाल्ने पहिलो मुलुक बन्नेछ। 

‘च्यालेन्ज ट्रायल’ नाम दिइएको त्यस किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बताइएको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान संक्रमित बनाएर सम्भावित भ्याक्सिनको प्रभावकारिता जाँचिने दी फाइनान्सियल टाइम्सले पहिलोपटक यस विषयमा प्रकाशित समाचारमा उल्लेख छ। 

बेलायत सरकारले ‘ह्युमन च्यालेन्ज स्टडिज’मार्फत भ्याक्सिन विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ। तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरी नसकेको बताइएको छ। 

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगबारे वास्तविक बुझाई प्राप्त गर्ने क्षमता रहेको दाबी गरे। ‘हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ’, उनले भने, ‘हामीले यसबारे पहिले पनि शंका गरेका थियौँ तर हामीसँग यस्तो किसिमको परीक्षण अघि बढाउनका लागि प्रमाण थिएन तर अब, मलाई लाग्छ कि हामीसँग स्पष्ट तथ्यांक छ।’

यो परीक्षणमा सामेल कसैमा समस्या देखियो भने उनीहरूलाई सुरुआती चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिने पनि होर्बीको भनाइ छ। ‘यस्ता परीक्षणमा स्वंयमसेवकहरूलाई नजिकबाट नियालिने  र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरोध प्रणालीको अनुगमन गरिनेछ’, उनले भने। – एजेन्सी