काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म आज बेलुकासम्म मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका छन् । 

आज बालुवाटारमा प्रचण्डसँगको भेटमा ओलीले यस्तो संकेत गरेका प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका हुन् । 

प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको यही योजनाअनुसार अहिले आकस्मिक मन्त्रीपरिषद बैठक बसिरहेको छ । मन्त्रीपरिषद बैठकमा प्रम ओलीले यो विषयमा जानकारी गराउनसक्ने बुझिएको छ । 

‘प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रीमण्डल पुनर्गठन आज बेलुकासम्म नै हुन्छ जस्तो देखिन्छ ।’ प्रचण्ड निकट ती नेताले बिजशालासँग भने–‘आज मन्त्रीमण्डल पुनर्गठन गर्ने र भोलि सपथ गराउने मनशाय देखिन्छ । बीचमा केही गडबड भएन भने आज मन्त्रीमण्डल पुनर्गठन भई भोलि सपथ हुने अवस्था बनेको देखियो ।’ 

प्रधानमन्त्री ओलीले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग मन्त्रीपरिषद पुनर्गठनको मापदण्डमा समेत सहमति बनाइसकेका छन् । राम्रा काम गर्ने ओली र प्रचण्ड निकटका केही नेतालाई राखेर अरु मन्त्रीलाई विदा गर्ने तयारी रहेको छ । 

स्रोतका अनुसार ईश्वर पोखरेल, रामबहादुर थापा, प्रदीप ज्ञवाली, लेखराज भट्ट, घनश्याम भूसाल र वर्षमान पुन दोहोरिने निश्चित देखिएको छ ।

बाँकीमध्ये अधिकांश मन्त्री विदा हुने स्रोत दाबी गर्छ । 

अर्थमन्त्री को बन्ला ? 
प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रालय फुटाएर प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरुलाई अवसर दिने तयारी गरिरहेका छन् । 

यो क्रममा सर्वाधिक चासो बनेको अर्थमन्त्रीको विषयमा अझै ठोस निर्णय भइसकेको छैन । स्रोतका अनुसार केही समय अर्थमन्त्रीको पद रिक्त रहन सक्नेछ । 

प्रचण्डले ‘बामदेव गौतमको अदालतमा विचाराधीन मुद्धा किनारा लागेपछि मात्रै मन्त्री मण्डल पुनर्गठनको काम गरौं’ भन्दा पनि ओलीले अस्वीकार गरेका छन् । ओलीको तत्काल मन्त्रीमण्डल पुनर्गठनको मनशाय बुझेका प्रचण्डले ‘उसो भए अर्थमन्त्री खालि राख्नुहोस् र यसमा बामदेव कमरेडलाई ल्याउनुपर्छ’ भनेका बुझिएको छ । 

‘तर ओली बामदेवप्रति सकारात्मक देखिएका छैनन् ।’ स्रोतले भन्यो–‘बामदेवको बाटो छेक्नैका लागि र आफ्ना निकटकाहरुको कुर्सी जोगाउनका लागि ओलीले हतार हतारमा मन्त्री मण्डल पुनर्गठन गर्न लागेका हुन् ।’

बामदेव गौतमको राष्ट्रियसभा सदस्यमा मनोनयनको विषयमा समेत प्रश्न उठाउँदै सर्वोच्च अदालतले एक रिटको प्रारम्भिक सुनुवाई गर्दै उनलाई थप संवैधानिक नियुक्ति नदिनू भन्ने आदेश दिइसकेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बुधबार बोलाएको छ । तर, ओलीले बामदेवलाई छेक्नैका लागि त्यसभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठनको योजना बनाएका हुन् । 

बामदेवलाई सर्वोच्चमा रिट दायर गरी बाटो छेक्न लगाउने योजना समेत ओली खेमाबाट बनेको स्रोतहरुले दाबी गर्दै आएका छन् । 

यी सबै घटनाक्रमहरुलाई हेर्दा ओली र उनी निकटका केही नेता(ईश्वर पोखरेल) लगायत बामदेवलाई कुनै पनि हालतमा सरकारमा सहभागी गराउने पक्षमा छैनन् भन्ने देखिन्छ ।