काठमाण्डौ । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै माछापुच्छ्रे बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको छ । 

शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक ६ गते पोखरामा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो । 

बैंकले साधारणसभा स्थगित गरे पनि कोभिड कहरको कारण आम सेयरधनीलाई परेको आर्थिक प्रभाव एवम् आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकको २२ औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी अन्तरिम लाभांश दिने प्रस्ताव गरेको छ। 

बैंककाअनुसार हाललाई  चुक्तापूँजीको २.८५ प्रतिशतका दरले करिब २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ अन्तरिम लाभांश वितरणको प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले अन्तरिम लाभांश पाउनेछन् । 

बैंकले यसअघि २२ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७६ ७७ को मुनाफाबाट रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वितरणको प्रस्ताव पेश गरिने घोषणा गरेको थियो ।