काठमाण्डौ । ब्राजिलमा भइरहेको तेस्रो चरणको क्लिनिकल ट्रायलका क्रममा अक्सफोर्ड युनिभर्सिटीद्वारा विकसित कोरोनाविरुद्धको भ्याक्सिन लगाइएका एक स्वयंसेवकको मृत्यु भएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रायलमा सहभागी स्वयंसेवकको मृत्यु भए पनि एस्ट्राजेनिकाले उत्पादन गरेको यो भ्याक्सिनको परीक्षण भने ब्राजिलमा रोकिने छैन। हालसम्म ती स्वयंसेवकको यो भ्याक्सिन लगाएकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा स्पष्ट भइसकेको छ। 

रोयटर्स स्रोतका अनुसार ती स्वयंसेवकलाई यदि यो भ्याक्सिन दिएको र सोही कारण उनको मृत्यु भएको भए परीक्षण रोकिन्थ्यो। तर ती स्वयंसेवकलाई मेनिन्जाइटिसको भ्याक्सिन दिएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले समाचारमा उल्लेख गरेको छ। 

यद्यपि ब्राजिलमा अक्सफोर्डको यो भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल सञ्चालन गरिहेको साओ पालोस्थित फेडेरल युनिभर्सिटीका अनुसार यस सम्बन्धमा एउटा स्वतन्त्र समीक्षा समितिले यो ट्रायल जारी राख्न सुझाव दिएको छ।

मृतक स्वयंसेवक ब्राजिलको रियो डी जेनिरो निवासी थिए। उनी २८ वर्षका थिए। 

हाल ब्राजिलका ६ सहरमा करिब ८ हजार स्वयंसेवकलाई यो भ्याक्सिनको पहिलो डोज दिइएको छ। तीमध्ये पनि केहीलाई दोस्रो डोज पनि दिइएको बताइएको छ। – बीबीसीबाट