काठमाण्डौ । दशैं विदा सुरु हुनुभन्दा एकदिनअघिबाट नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । 

दशैंमा नयाँ नोट प्रयोग गर्न चाहनेहरुलाई केही राहात होस् भन्ने उद्देश्यले रु. २० दरका नयाँ नोट बजारमा पठाइएको हो । 

साबिककै आकारको, रंग तथा बाह्रसिंगेको चित्र रहेको संकेत नम्बर ञ ४२ ०००००१ देखि ठ १०० ९९९९९९ सम्म रहेका नोट बजारमा पठाइएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

केन्द्रीय बैंकका अनुसार ५ करोड ९० लाख थान(१ अर्ब २८ करोड रुपैयाँ) बराबरको रु. २० दरका नोट बजारमा पठाइएको हो । 

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने नयाँ नोटमा तत्कालिन गभर्नर डा. चिरञ्जिबी नेपालकै हस्ताक्षर रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको छ ।

यस्तै, नोटको पृष्ठभागको माथिल्लो खण्डमा अंग्रेजी क्यापिटल लेटरमा नेपाल राष्ट्रबैंक(NEPAL RASTRA BANK) लेखिएको, मध्यभागमा वाह्रसिङ्गेको तस्बीर रहेको छ भने तल्लो भागको बोर्डरमा अंग्रेजी क्यापिटल लेटरमा रुपिज ट्वान्टी(RUPEES TWENTY) लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा 2020 A.D. लेखिएको छ ।