काठमाण्डौ । विश्वव्यापी बनेको कोभिड–१९ को संक्रमण नेपालमा पनि बढ्ने क्रम जारी नै छ । कोरोनाको डरका कारण गम्भीर अवस्थाका बिरामीले भनेको बेलामा अस्पताल जान पाएका छैनन् । एम्बूलेन्सहरुले कोरोनाको त्रासका कारण बिरामीहरुलाई बोक्ने काम नगर्दा कतिपयको अकालमै ज्यान गइरहेको छ । यही अप्ठ्यारो परिस्थितिमा हाम्रो समाजमा कतिपय पात्र यस्ता छन्, जसले आफूसँग भएको स्रोत र साधनलाई सेवामा लगाई मानिसहरुको बिनास्वार्थ उद्धार गरिरहेका छन्, ज्यान बचाइरहेका छन् । एम्बूलेन्स नपाएको अवस्थामा पनि केही पात्रहरुले आफ्नो निजी गाडीलाई निरन्तर एम्बूलेन्सले दिनेजस्तै सेवामा निःशुल्क प्रयोग गरेर नेपाली समाजमा सेवा र दयाको भावना अझै मरेको छैन भन्ने उदाहरण पेश गरेका छन् । 

यो प्रेरक कथा बनाउन सफल पात्र हुन् बुढानीलकण्ठ स्थायी बसोबास गर्र्दै आइरहेका सुभाष श्रेष्ठ । उनले गत चैत १२ गतेबाट सुरु भएको लकडाउनयता निःशुल्क एम्बुलेन्स सेवा दिइरहेका छन् । उनको यो अभियानमा पछिल्लो समय उनका साथीहरुले पनि साथ दिइरहेका छन् । 

श्रेष्ठ र उनको समूह आफ्ना प्राइभेट गाडीलाई एम्बुलेन्सका रुपमा परिणत गरी काठमाण्डौ उपत्यकामा मानव सेवामा तल्लीन छन् ।

सुरुमा ४ वटा प्राइभेट गाडीलाई एम्बुलेन्सका रुपमा सेवा प्रवाहमा जुटेका अभियन्ता श्रेष्ठका अनुसार हाल चाप बढेपछि ६ वटा गाडीहरुले निःशुल्क एम्बुलेन्सका रुपमा सेवा दिइरहेको छन् ।

श्रेष्टको ट्राभल एण्ड टुरिजम व्यवसाय छ, तर हाल उनी काठमाण्डौ,भक्तपुर र ललितपुरसम्म पुगेर बिरामीहरुलाई अस्पतालसम्म पुर्याउँछन् । अस्पताल नै नपुगी कसैको मृत्यु नहोस् र बेलैमा उपचार हुन सकोस् भन्ने हेतूले सुभाषले निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको दाबी गरे ।

वि.सं. २०५८ सालमा देशमा संकटकाल थियो र श्रेष्ठकी आमा बिरामी भएकाले अस्पताल समयमा पुर्याउन नसकेको तीतो अनुभव रहेछ । उनकी आमा बिरामी हुँदा हारगुहार धेरै गरे पनि अस्पतालसम्म पुर्याउन निकै कठिन भएकाले यस्तै घटना कसैको जीवनमा नघटोस् र घरमा कसैले पनि अनाहकमा मृत्युवरण गर्न नपरोस् भन्ने पवित्र सोचले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको उनको भनाइ छ ।

अब अझै केही समय निःशुल्क एम्बुलेन्स दिने श्रेष्ठको योजना छ । हालसम्म २० हजारभन्दा बढीले सेवा पाइसकेको उनले दाबी गरे । गाडी मर्मतसम्भार र इन्धन खर्च भने आफैं जुटाइरहेको बताउने उनले यो अभियानमा अरु ६ जना साथीले पनि साथ दिएको बताए । सुधिर रेग्मी, राज श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ लगायतले यो पवित्र अभियानमा साथ दिइरहेका छन् । 

काठमाण्डौ उपत्यकाका भक्तपुर,ललितपुर र काठमाण्डौमा निःशुल्क एम्बुलेन्स सेवा लिन ९८५१०२०३३८ मा सम्पर्क गर्न उनले आग्रह समेत गरे ।