काठमाण्डौ । देशकै नम्बर वान जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९९ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा नेपाल लाइफले पहिलो त्रैमासमा बिमाशुल्क आर्जन १३.५० प्रतिशतले बढाएको देखिएको छ । 

यो कम्पनीले समीक्षा अवधिमा पुनर्बिमा कमिसनबाट हुने आय १ करोड ४१ लाखआर्जन गरेको छ भने लगानी, कर्जा तथा अन्यबाट हुने आय १ अर्ब ६८ करोड माथि पुर्याएको छ ।

अघिल्लो वर्षको यही अवधिमा पुनर्बिमा कमिसनबाट १ करोड ३२ लाख आर्जन गरेको थियो भने लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ४० करोड आर्जन गरेको थियो । 

बिमालेखको धितोमा कर्जाबाट हुने आम्दानी अघिल्लो वर्षको यही अवधिमा ३८ करोड ६४ लाखमा सीमित रहेकोमा बढेर यो वर्ष ५२ करोड ४४ लाख पुगेको छ । 

अन्य प्रत्यक्ष आय पनि ४ करोड ७४ लाखबाट बढेर ९ करोड २७ लाख पुगेको छ । 

यो अवधिमा कम्पनीले ३ अर्ब ८७ करोडको खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ६७ लाख बढीको दाबीभुक्तानी गरेको थियो । 

समीक्षा अवधिमा नेपाल लाइफको व्यवस्थापन खर्च २० करोड १७ लाख रहेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा २२ करोडको हाराहारीमा थियो । कम्पनीले बिमा शुल्क बढाएर व्यवस्थापन खर्च घटाउनु निकै राम्रो पक्ष हो । 

समीक्षा अवधिका लागि नेपाल लाइफको खूद नाफा २२ करोड ९० लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा २० करोड ४४ लाख रहेको थियो । 

नेपाल लाइफले अघिल्लो वर्षको यही अवधिसम्म ७२ अर्ब ३३ करोडमा सीमित जीवन बिमाकोषको आकार बढाएर यो वर्ष ९४ अर्ब ८२ करोडको उचाई चुमाएको छ भने २ अर्ब ६४ करोडमा सीमित जगेडा तथा कोषको आकार ३ अर्ब ६६ करोड पुगेको छ । 

यस्तै, ४७ करोड ४४ लाखमा सीमित महाविपत्ति कोष जगेडाको आकार ६० करोड ८० लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म् १२ लाख ३९ हजार बिमालेख कायम रहेको कम्पनीमा समीक्षा अवधिसम्म भने १३ लाख १९ हजार बिमालेख संख्या कायम भएको छ । 

समीक्षा अवधिका लागि यो कम्पनीको प्रतिसेयर आम्दानी १६.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.७९ रुपैयाँ, पीई अनुपात ८२.४४ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९७३ रुपैयाँ र औसत प्रतिफल दर १०.०३ प्रतिशत रहेको छ ।