काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सकिएको छ । 

अपरान्ह ४ बजे मतदानको कार्यक्रम सकिएको र सो क्रममा सतप्रतिशत मतदाताले सहभागिता जनाएका प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिएका छन् । 

मतदानको कार्यक्रम आज बिहान साढे ८ बजेदेखि सुरु भएको थियो ।

यो क्रममा सबैभन्दा पहिला जिल्लानगरमा सतप्रतिशत मतदान भएको थियो । जिल्लानगरका मतदाताहरुले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट मतदान गरेका थिए । 

एशोसिएसटतर्फको मतदानको कार्यक्रम भने बबरमहलस्थित कार्की ब्यांक्वेटमा राखिएको थियो भने वस्तुगततर्फका मतदाताले महासंघको टेकूस्थित मुख्यालय परिसरबाटै मतदानमा सहभागिता जनाएका थिए।

महासंघमा देशभरका १०५ जिल्लानगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्लानगरको मतभार ५० प्रतिशत रहेकोले जितका लागि यही क्षेत्रमा हिजो रातभर उम्मेद्वारहरुले अन्तिम कोशिश गरेका थिए । जिल्लानगरका मतदातालाई आफ्नो पक्षमा पार्न साम, दाम दण्डभेद लगायत सबै उपाय अवलम्बन भएको र सो क्रममा राम्रै चलखेल भएको स्वयम् मतदाता बताउँछन् । जिल्लानगरको मतभार एशोसिएसट र वस्तुगतभन्दा बढी भएकोले यो क्षेत्रका मतदाता किनबेचको पनि राम्रै खेल हुने गर्दछ । यो पटकको निर्वाचनमा पनि मतदाता किनबेचको राम्रै खेल भएको स्रोतहरु बताउँछन् । 

महासंघमा वस्तुगततर्फको मतभार भने २० प्रतिशत हुन्छ । यस्तै, बाँकी मतभार एशोसिएटतर्फको हुन्छ ।

को-को छन् प्रतिस्पर्धामा ?
यो पटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको उम्मेद्वारी परेको छ । उनीहरुले आफ्नो नेतृत्वमा अलग अलग टिम बनाई चुनावी प्रतिस्पर्धा गरेका थिए । 

चन्द्रप्रसाद ढकाल प्यानबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एशोसिएसटतर्फका उपाध्यक्ष रामचन्द्र संघई चुनावी मैदानमा उत्रिएका थिए । 

यस्तै, किशोर प्रधान प्यानबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएसट उपाध्यक्षमा सौरभ ज्योति मैदानमा उत्रिएका थिए । 

महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३८ जना उम्मेद्वार भिडेका छन् ।

वस्तुगत तर्फका १४ केन्द्रीय सदस्यमा भने २८ जना चुनावी भिडन्तमा छन् ।

यस्तै, एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

कस्तो आउला नतिजा ?
निर्वाचन समितिका अनुसार मतगणना निर्धारित समयमै सुरु भयो र कुनै लफडा परेन भने आज मध्यरातसम्ममा चुनावी परिणाम आइसक्नेछ । 

प्रारम्भिक विश्लेषण र आँकलनका आधारमा वरिष्ठ उपाध्यक्ष पदमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । केही दिनअघिसम्म आफ्नो टिमको सतप्रतिशत जित हुने दाबी गर्ने ढकाल समूह हिजोदेखि अवस्था केही बिग्रिएपछि हच्किएको छ भने प्रधान समूह केही उत्साहित भएको छ । 

प्रधान समूहले जिल्लानगरबाट आफूहरुलाई ७० प्रतिशत मत आउने दाबी गरे पनि त्यो चुनावी स्टेन्ट मात्र रहेको ढकाल समूहको विश्लेषण छ ।

जिल्लानगरका आफ्ना बलिया उम्मेद्वार गुणनिधि तिवारी आफ्नो प्यानलमा रहेका कारण समेत पहिलाभन्दा अवस्था केही बिग्रिए पनि आफूहरुले नै बढी मत पाउने ढकाल समूहको अन्तिम निश्कर्ष छ । ढकाल समूहले वरिष्ठ उपाध्यक्ष र जिल्लानगर उपाध्यक्षमा आफूहरुको जित सुनिश्चित भएको दाबी गरेको छ भने एशोसिएट र वस्तुगत उपाध्यक्षमा भने भन्न नसकिने प्रारम्भिक विश्लेषण गरेको छ । 

कार्यसमिति सदस्यहरुमा पनि मिश्रित परिणाम आउने ढकाल समूहको दाबी छ । 

तर, प्रधान समूहले भने आफूहरुको प्यानलले नै जित हासिल गर्ने दाबी गरेको छ । यो दाबीलाई महासंघको चुनावलाई नजिकबाट नियालिरहेकाहरुले ओभर कन्फिडेन्ट र आधारविहीन प्रचार भनेका छन् । 

स्रोतहरु भन्छन्-'अवस्था हेर्दा नेक टू नेक टक्कर हुने देखियो । वरिष्ठ उपाध्यक्षमा जित जसको भए पनि मतान्तर झिनो हुनेछ । दुवै पक्षले दाबी गरेजस्तो फराकिलो जित कसैको नहुने देखियो ।'