काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवअध्यक्ष शेखर गोल्छाले आज सोमबार एक विशेष समारोबीच पदबहाली गरेका छन्।

पदभार ग्रहण कार्यक्रममा पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्यअवधिका लागि निर्वाचित भएर आउने तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेसनल रूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको बताए। ‘तपाइँहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाइँहरूको पनि सफलता भएकाले तपाइँहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु’, उनले भने, ‘महासंघमा तपाइँहरूको विज्ञता र तपाइँहरूले दिने सेवा अमूल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउंदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’ 

अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोहीअनुसारको अपेक्षा राखेको बताए। ‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु’, उनले भने, ‘सचिवालयलाई पूर्ण रुपमा सुदृढीकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोहीअनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा संचालन गर्नेछ।’ 

कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए।