काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा वर्षौदेखि जारी गुट अन्तको नारासहित नेतृत्वमा पुगेका शेखर गोल्छाले पहिलो बैठकमै गुट–उपगुटको भावनालाई मलजल हुने गरी निर्णय गरेपछि अबको नेतृत्व पनि तानातान र हानाहानमै रुमल्लिने देखिएको छ । 

भवानी राणाबाट पद हस्तान्तरणपछि अध्यक्ष भएका गोल्छा नेतृत्वको पहिलो कार्यसमिति बैठकमा वरिष्ठ उपाध्यक्ष र अन्य उपाध्यक्ष तथा सदस्यसँग सल्लाह नै नगरी विशिष्ट सदस्यमा पशुपति मुरारकालाई नियुक्त गर्ने निर्णय गराएपछि महासंघको पहिलो बैठक केहीबेर अशान्त र तनावपूर्ण बनेको थियो । 

उद्योगी व्यवसायीको पेशागत हकहितका लागि स्थापना गरिएको भए पनि महासंघ पछिल्लो समय गुटउपुगट र राजनीतिक लाइनको शिकार बन्दै आएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा जित हासिल गर्ने व्यक्ति अर्को कार्यकाल स्वतः अध्यक्ष हुने व्यवस्था छ । यही व्यवस्थाअन्तर्गत महासंघको अध्यक्ष भएका गोल्छाले यो पटकको चुनावमा समेत एउटा पक्षलाई उचालेर हिँडेका थिए । उनले खुल्ला रुपमै आफूलाई चाहिने टिम भन्दै किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए । उनको चुनावी अभियानको कमान पनि गोल्छाले सम्हालेका थिए । आफूले कमान सम्हालेको समूहको वरिष्ठ उपाध्यक्ष प्रधानले चुनाव हारेपछि नैतिक रुपमा संकटमा परेका गोल्छाले महासंघको गुटउपगुटको वर्षौदेखिको खेती अन्त गर्नुको साटो झनै मलजल गर्ने गरी एकपक्षीय निर्णय गरेपछि वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल र उनको समूह रुष्ट बनेको छ । 

भवानी राणा अध्यक्ष हुँदा उनको प्रस्तावमा सबै पक्षको सहमतिसहित चण्डीराज ढकाललाई महासंघको विशिष्ट सदस्य बनाइएको थियो । तर, यसपटक गोल्छाले भने बिनासहमति एकल निर्णयका आधारमा पशुपति मुरारकालाई विशिष्ट सदस्यमा मनोनयनको निर्णय गरेका हुन् । 

उनले चन्द्र ढकालसँग पराजित भएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई कार्यकारिणी समितिको मानार्थ सदस्य समेत एकलौटी निर्णयबाट नियुक्त गरेका छन् । यो कदमप्रति पनि ढकाल समूह सन्तुष्ट छैन । 

गोल्छाले महासंघको अध्यक्षताको जिम्मेवारी लिएपछि गरेको पहिलो भाषणमा महासंघ आफ्नो मन्दिर रहेको र आफू यहाँको पूजारी रहेको अभिव्यक्ति दिएका छन् । तर, पहिलो बैठकबाटै असन्तुष्टि र गुटको विजारोपण गरेपछि अरु नेतृत्वभन्दा केही बढी आशा गरिएका गोल्छाले पनि महासंघको दशकौंदेखि रोग निको पार्नेतर्फ ध्यान नदिने, बरु आफ्ना विरोधीलाई सिध्याउने खेल सुरु हुनसक्ने आशंका गरिएको छ । उनले मन्दिर भनेकै ठाउँलाई आफ्ना विरोधी सिध्याउने क्रीडास्थल बनाउने चिन्ता उद्योगी व्यवसायीमा देखिएको छ ।  

‘कतिपय सदस्यहरुले गोल्छाको एकल निर्णयको शैली र प्रस्तुती हेर्दा उनी पशुपति मुरारकाको स्ट्याम्प बन्नसक्ने खतरा देखिएको बताएका छन् । हिजो पनि यस्तै भएको थियो, गोल्छाको नेतृत्वमा पनि महासंघ वर्षाैदेखिको दलदलबाट माथि नउठ्ने संकेत देखियो ।’ एक कार्यकारिणी सदस्यले भने–‘आफ्ना विरोधीहरुप्रति गोल्छाले एकदम लामो इगो राख्ने गरेका देखियो । सबैलाई मिलाएर लैजानुपर्ने नेतृत्वमा पुगेको व्यक्तिले यस्तो इगो राखे अवस्था झनै भद्रगोल हुनसक्छ ।’ 

यस्तै, सहमतिमा मनोनित गर्नुपर्नेमा गोल्छाले एक्लौटी ढंगले कोषाध्यक्ष नियुक्तिको प्रक्रिया पनि अगाडि बढाएका छन् । यसमा समेत ढकाल समूहको असन्तुष्टि छ।