काठमाण्डौ । विद्युत् पोल सार्ने र अन्य मर्मतकार्य गर्न नेपाल विद्युत् प्राधिकरणले आज मंगलबार दिउँसो काठमाण्डौका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

बानेश्वर वितरण केन्द्रले विभिन्न स्थानमा मंगलबार ५ घन्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। वितरण केन्द्रका अनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। जसका कारण माइती नेपाल, सन्डोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल, बीपीचोक र आसपासका क्षेत्रमा दिनभर विद्युत् आपूर्ति बन्द हुनेछ। भोलि बुधबार पनि यी स्थानमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नै विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।

यसैगरी बालाजु वितरण केन्द्रले काठमाण्डौ महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत् सप्लाइ बन्द गर्न लागिएको छ। दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाण्डौका बालुवाटार, बुढानिलकण्ठ, धापासी, गोंगबुलगायत क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।  

बालाजु वितरण केन्द्रले एक सूचना जारी गर्दै रिङरोड विस्तार कार्यका लागि महाराजगन्ज वितरण केन्द्रअन्तर्गत रिङमेन महराजगन्ज फिडर १ र २ भित्रको एचटी ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाण्डौ महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुने उल्लेख छ। निर्धारित समयमै विद्युत सुचारु गरिने पनि सूचनामा जनाइएको छ।