काठमाण्डौ । सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनले सन् २०२० मा लोभलाग्दो प्रदर्शन गरेको छ।

बिटक्वाइन सोमबारमात्र ९ प्रतिशतले बढेर प्रतियुनिट १९ हजार ८६० डलर पुगेको छ। यो मूल्य यो वर्षकै हालसम्मको उच्च हो। यसअघि बिटक्वाइनको मूल्य सन् २०१७ डिसेम्बरमा प्रतियुनिट १९ हजार ८७३ पुगेको थियो। जुन हालसम्मकै उच्च हो।

त्यसो बिटक्वाइनमा यो वर्ष निकै राम्रो बढोत्तरी भएको छ। सन् २०१९ को तुलनामा सन् २०२० को हालसम्म यसको मूल्यमा १७५ प्रतिशतको बढोत्तरी भइसकेको छ। 

विश्व महामारी कोरोनाका कारण गत मार्चमा यो बिटक्वाइनको मूल्य प्रतियुनिट ४ हजार डलरले घटेको थियो।  तर डलर कमजोर हुँदा बिटक्वाइनमा पुनः उछाल आयो। 

अमेरिकाको ब्रोकरेज तथा ट्रेडिङ फर्म ई–टोरोका म्यानेजिङ डाइरेक्टर गे हिर्षका अनुसार बिटक्वाइनमा उछाल आउनुको मुख्य कारक स्मार्ट र इन्स्टिच्युसनल मनीका रुपमा हेरिएका कारण आएको हो। अहिले ठूलो संख्यामा व्यक्तिगत र संस्थागत रुपमा बिटक्वाइन किनिरहेको उनले जिकिर गरे। अहिले बजारमा करिब ३६५ बिलियन डलरको बिटक्वाइन सर्कुलेसनमा रहेको उनको भनाइ छ।

विश्वकै सबैभन्दा ठूलो असेट म्यानेजमेन्ट फर्म ब्ल्याक रकले सेफ हेभनका रुपमा बिटक्वाइनले एक दिन सुनको स्थान लिन सक्ने उल्लेख गरेको छ। यो कारणले बजारमा बिटक्वाइनको मूल्यमा उछाल आएको हुन सक्ने अनुमान गरिएको छ। यसैगरी साना क्रिप्टोकरेन्सीहरु इथेरियम, एक्सआरपी, लाइटक्वाइन र स्टेलरको मूल्यमा बढोत्तरी आउँदा पनि बिटक्वाइनमा उछाल आएको हुन सक्ने बताइएको छ।– एजेन्सी