काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये ११ वटा लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेका छन्। 

हालसम्म लाभांश प्रस्तावका लघुवित्तमध्ये वोमी लघुवित्तले सर्वाधिक ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। यो कम्पनीले नगद लाभांश भने प्रस्ताव गरेको छैन । 

यसैगरी छिमेक लघुवित्तले पनि २९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद रहेका छन्।

समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश प्रस्ताव गर्दा आरएमडीसी र एनएमबी लघुवित्तले समान २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। समताले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद प्रस्ताव गरेको छ। आरएमडीसीले भने ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद तथा एनएमबीले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद प्रस्ताव गरेका छन्।

मेरो माइक्रोफाइनान्सले भने १६.९४ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरी कुल १७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ। आशा लघुवित्तले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा स्वरोजगार लघुवित्तले १३.२७ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी कुल १३.९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यसैगरी फस्ट माइक्रोफाइनान्सले कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.५ प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद लाभांश रहेका छन्।

मिर्मिरे र आरएसडीसी लघुवित्तले समान १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। मिर्मिरेले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद तथा आरएसडीसीले ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।