काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Pertti Anttinen  बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। 

उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि तथा कोभिड १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। 

उक्त भेटमा महामहिम राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी दिए। महामहिम राजदूतले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जाने समेत बताए।