काठमाण्डौ । पुस १७ गते शुक्रबार सिंहदरबारमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले पूँजीबजारलाई पनि प्राथमिकतामा राखी यससँग सम्बन्धित निर्णयहरु गर्यो । यस्तो निर्णय गराउन अर्थमन्त्री विष्णु पौडेलले नै त्यससम्बन्धी प्रस्ताव बैठकमा ल्याउन लगाएका थिए । सो बैठकले नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएको हालको प्रबृत्ति, यसको स्थायित्व र यसले समग्र पूँजी बजारमा पार्ने प्रभावको सुक्ष्म रुपमा विश्लेषण गरी नियमित रुपमा अद्यावधिक गर्ने निर्णय गरेको थियो । 

अर्थमन्त्रीको चाहनामा पूँजीबजारसँग सम्बन्धित विषय सरकार र यस अन्तर्गतका विभिन्न उच्चस्तरीय विषयगत समितिहरुमा प्रवेश पाएको यो पहिलो घटना भने थिएन । अर्थमन्त्रीको रुपमा दोश्रो पटक सिंहदरबार प्रवेश गरेदेखि नै विष्णु पौडेलले पूँजीबजारलाई विशेष प्राथमिकतामा राखिरहेका छन् । 

पूँजीबजारमैत्री भएकै कारण पौडेल अर्थमन्त्रीको रुपमा आउनेबित्तिकै बजारले अलटाइम हाईको कीर्तिमान नै ब्रेक गरिदियो । उनी यसअघि अर्थमन्त्री हुँदा समेत १८८१ को अलटाइम हाईको कीर्तिमान कायम भएको थियो । उनी फेरि अर्थमन्त्रीको रुपमा आउँदा समेत बजारले बुलिस गति लियो । यस पछाडि संयोग थोरै कारण भए पनि लगानीकर्ताले उनलाई हेर्ने नजर सकारात्मक हुनु चाहिँ महत्वपूर्ण कारण देखिन्छ । अर्थमन्त्रीको रुपमा पौडेलको पुनरागमनपछि लगानीकर्ताको मनोबल बढेको यसले देखाउँछ । 

अहिलेसम्मको अवस्था हेर्दा पूँजीबजारका लगानीकर्ताले पौडेलप्रति गरेको विश्वासलाई उनले न्याय गर्दै जान थालेका छन् । यही क्रममा उनले पूँजीबजारको समस्या समाधानको विषयलाई प्राथमिकतामा राख्दै मातहतका निकायहरुलाई एक्सन ओरिएन्टेड हुन कडा निर्देशन दिंदै आएका छन् । 

उनी पूँजीबजारप्रति कति उदार छन् र यसका समस्या समाधानका लागि कति आक्रामक छन् भन्ने कुरा पुस ३ गतेको एउटा बैठकमा देखिएको थियो । सो दिनको बैठकमा अर्थमन्त्रीले पूँजीबजार सम्बद्ध निकायका प्रमुखहरुलाई बोलाएका थिए । बैठकमा उनले ब्रोकर कमिसन तत्काल घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । 

बजारको नियामक भए पनि धितोपत्र बोर्ड बजारको विकास, विस्तार र लगानीकर्ताको समस्या समाधानमा गम्भीर नबनेको गुनासो मन्त्रालयसम्मै पुगेपछि पौडेल उक्त दिन केही रिसाएका पनि थिए । धितोपत्र बोर्डले आम लगानीकर्ताले लामो समयदेखि माग गरिरहेका ब्रोकर कमिसन घटाउने विषयमा ल्याङल्याङ गरेको देखेर पौडेल कडा निर्देशन दिने निश्कर्षमा पुगेका उनको सचिवालयका एक अधिकारीले जनाएका छन् । 

उनले सो दिन बैठकमा दिएको निर्देशन उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले बिजशालासँग भने–‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस।’

सो दिन अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएका थिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न निर्देशन दिएर धितोपत्र बोर्डको ढिलासुस्तीमाथि प्रहार गरेका थिए । त्यति मात्र होइन, उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिएका थिए । 

सरकारद्वारा घोषित भएका पूँजीबजार विकासका कार्यक्रम कार्यान्वयनमा ल्याउन समयतालिका बनाएर काम गर्न, ऐन नियममा सुधार गर्नुपर्ने भए त्यसमा समेत लाग्न र तत्काल एक्सन ओरिएन्टेड हुन उनले मातहतका निकायलाई निर्देशन दिनुले समेत पूँजीबजारप्रति उनको सकारात्मक हेराई प्रष्टिने विश्लेषक बताउँछन् । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद अर्थमन्त्रीको रुपमा पौडेलको पुनरागमन भएपछि पूँजीबजारको विषयले प्राथमिकता पाउन थालेकोमा खुशी छन् । ‘मन्त्री ज्यू पूँजीबजारप्रति साह्रै सकारात्मक हुनुहुन्छ ।’ उनले थपे–‘पूँजीबजारको विकास र विस्तारका लागि उहाँलाई एक्सन ओरिएन्टेड भएको मैले पाएको छु । यहीकारण पनि उहाँ अर्थमन्त्रीको रुपमा आउँदा लगानीकर्ताको मनोबलमा पनि सुधार भएको हुनुपर्छ ।’ 

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार उपसमितिका संयोजक अम्बिकाप्रसाद पौडेलको विश्लेषणमा समेत अर्थमन्त्री पौडेलले पूँजीबजारलाई राम्रोसँग बुझेका र उनले यो क्षेत्रको महत्व समेत राम्रै ढंगले महसुस गरेका छन् । 

‘पूँजीबजारले उहाँलाई हिजोको दिनमा पनि विश्वास गरेको थियो र अहिले पनि विश्वास गरेको अवस्था छ ।’ उनले भने–‘पूँजीबजार बढ्दा वा यसले गति लिँदा कुनै पनि अर्थमन्त्रीहरु बेखुश हुनुपर्ने कारण हुन्न, उहाँ यो कुरामा प्रष्ट देखिनुहुन्छ ।’ 

अर्थतन्त्रका अन्य कम्पोनेन्टहरु स्थिर र सुषुप्त हुँदा पूँजीबजारको गतिले तिनलाई समेत गतिशील बनाउनसक्छ भन्ने कुरा अहिलेका अर्थमन्त्रीले बुझेका पौडेलको विश्लेषण छ । 

‘अर्थतन्त्रका अन्य कम्पोनेन्टहरु स्थिर, सुषुप्त छन् । यस्तो अवस्थामा पूँजीबजारले सपोर्ट र हिट गरिदियो भने ती क्षेत्रहरु पनि फ्लोरिस हुन्छन् ।’ पौडेल भन्छन्–‘अर्थमन्त्री ज्यूको पछिल्ला क्रियाकलाप हेर्दा उहाँले यो मर्म बुझ्नुभएको देखिन्छ । त्यहीअनुसार उहाँ चल्न थाल्नुभएको देखिन्छ ।’