काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अली पेसहित थप आठवटा चिनियाँ एपमा प्रतिबन्ध लगाएका छन्।

अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै ट्रम्पले ती आठ एपमा प्रतिबन्ध लगाउने निर्देशिकामा मंगलबार हस्ताक्षर गरेका हुन्। योसँगै अब अमेरिकामा अली पे, क्यूक्यू वालेट, विच्याट, सेयरइट, भीमेट र डब्ल्यूपीएस अफिस, क्याम स्क्यानरजस्ता एपमाथि प्रबन्ध लागेको छ। 

ती एपहरुले अमेरिकीहरुमाथि ट्रयाक गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर बन्देज लगाइएको ट्रम्प प्रशासनले जनाएको छ। 

ट्रम्पको यो कदमले चिनियाँ कम्पनीहरुमाथि निकै दबाब सिर्जना भएको छ। यसअघि पनि ट्रम्प प्रशासनले अमेरिकामा हुवावे र टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ।

केही समयअघिमात्रै ट्रम्प प्रशासनले अमेरिकी सेयरबजारबाट चिनियाँ कम्पनीहरुलाई बाहिर निकाल्ने कानुन बनाएको थियो। – सीएनएन