पोखरा । नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकीय नगरी पोखरामा पनि बिस्तार गरेको छ । 

फुडमाण्डूले आफ्नो सेवालाई पहिलो पटक काठमाडौं उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो ।

कम्पनीले २०७७ पुष २३ गते पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा बिस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको छ ।

कम्पनीका सेल्स एण्ड मार्केटिंग चिफ श्यामरत्न मालीले पोखराबाट सेवा बिस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपालको पहिलो फुड अनलाइन डेलिफरी प्लेटफर्मले पोखराबासीहरुलाई सेवा गर्नका लागि हाल ३० वटा भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । 

क्रमबद्ध रुपमा यो संख्या बढाउँदै लैजाने मालीले जानकारी दिए । '

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा बिस्तार गर्ने योजनालाई हाल सफल बनाएको जानकारी दिए ।

'हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा बिस्तार गर्ने लक्ष्य लिएका थियौं, तर कोभिड १९ को कारण सो लक्ष्य केही ढिलो गरी पूरा गरेका हौं ।' उनले भने-'पोखरेलीहरुलाई पनि काठमाडौंका ग्राहकहरुलाई प्रदान गरेको जस्तै उच्चस्तरको सेवा प्रदान गर्नेछौं ।'

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टहरुलाई समेत व्यापार बिस्तार गर्न सहज हुने बताए । 

उनले यसले गर्दा ग्राहकहरुले घरमा नै बसेर खानेकुराको आनन्द लिनसक्ने हुँदा त्यसले गुणस्तरीय सेवा दिन समेत प्रतिस्पर्धा हुने अपेक्षा व्यक्त गरे ।

पोखरामा सेवा बिस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा रु३०० सम्मको छुट घोषणा गरेको छ ।

कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा बिस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा बिस्तार गर्ने जनाएको छ ।