काठमाण्डौ । पछिल्लो समयमा सेयर बजारमा रौनक र उत्साह बढेसँगै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' प्रयोगकर्ताको संख्या १ वर्षकै अवधिमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

सीडीएससीका अनुसार हाल 'मेरो सेयर' प्रयोगकर्ताको संख्या १३ लाख ७२ हजार पुगेको छ । 

गत वर्ष यही समयमा 'मेरो सेयर'को प्रयोगकर्ता ५ लाख ८० हजारमा सीमित थिए । 

एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेले हिजोआज 'मेरो सेयर' प्रयोग गर्नेको संख्या ४ गुणासम्म वृद्धि भएको दाबी गरे । सीइओ घिमिरेले 'मेरो सेयर' प्रयोगमैत्री भएको र सहजताकै कारण प्रयोगकर्ताहरुको संख्या पनि दिनानुदिन वृद्धि भइरहेको बताए । बण्डलमै बैंक खाता, डिम्याट खाता र 'मेरो सेयर' पनि लिने ट्रेण्ड रहेकाले प्रयोगकर्ताहरु बढेको उनको भनाई छ ।

सीडीएससीको 'मेरो सेयर'मा आफ्नो डिम्याट खातामा रहेको धितोपत्र र पोर्टफोलियो हेर्न मिल्ने र आइपीओ एफपीओ हकप्रद आवेदन पनि 'मेरो सेयर'बाटै दिन मिल्ने भएपछि हाल प्रयोगकर्ता ह्वात्तै बढेको देखिन्छ । 'मेरो सेयर'बाटै सेयर बिक्रीपश्चात सेयर हस्तान्तरण(ईडीआईएस) अनिवार्य गरेपछि  प्रयोगकर्ता थपिँदै गइरहेको हो।

हाल दोस्रो बजारमा पौने ५ लाख हाराहारी लगानीकर्ता छन् । दोस्रो बजारमा सेयर बिक्रीपश्चात हाल ईडीएस गर्नेको प्रतिशत पनि ह्वात्तै बढेर ९२ देखि ९५ प्रतिशत पुगेको छ । 

यसैगरी नयाँ कम्पनीको आवेदन गर्ने कुल आवेदकमध्ये मेरो सेयरबाट मात्र ८५ देखि ९० प्रतिशत हाराहारी आवेदन पर्ने गरेको सीडीएससीले जनाएको छ ।