काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ आवेदनमा नयाँ रेकर्ड कायम गरेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको अन्तिम दिन माग गरेभन्दा साढे १२ लाख बढीले आवेदन परी आइपीओ आवेदनमा नयाँ रेकर्ड कायम गरेको हो । यसअघि प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ८२ हजार आवेदन परेको थियो ।

सीडीएस एण्ड क्लियरिगं लिमिटेडका अनुसार मंगलबार  अपरान्ह ५ बजेसम्म सम्ममा चन्द्रागिरीको आइपीओमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन दिएका छन् । उनीहरुले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता खरीदका लागि आवेदन दिएका छन् । आस्वा माध्यमबाट पनि आइपीओ आवेदन गर्न सकिने हुनाले यो संख्या थप वृद्धि हुनेछ ।

चन्द्रागिरी हिल्सले गत शुक्रबार(आज)देखि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिसकेको छ।

दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गरेको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।