काठमाण्डौ । सरकारले कोभिड–१९ खोपका लागि खोप कोषमा योगदान गर्न दाताहरुलाई आह्वान गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्योचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै खोप कोषमा योगदान गर्न मन्त्रालयले आह्वान गरेको छ। कोषमा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवं सामाजिक तथा परोपकारी संस्थालगायतलाई कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम जम्मा गरी खोप कोषमा योगदान गर्न सरकारले आह्वान गरेको छ।

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने पनि मन्त्रालयले जनाएको छ। उक्त कोषको आयव्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणालीबमोजिम राखिनुका साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने सूचनामा उल्लेख छ। 

दाताहरुले कोलेनिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्ने सूचनामा जनाइएको छ।