काठमाण्डौ । कोरोनाभाइरसको सुरुआतका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोली चीनको वुहान सहर पुगेको छ। वुहान कोरोनाभाइरस संक्रमणको इपिसेन्टर हो।

कोरोना महामारीका विषयमा विभिन्न देशले चीनविरुद्ध सुरुआतदेखि आवाज उठाउँदै आएका थिए। यद्यपि डब्ल्यूएचओको टोली यो महामारी देखिएको झन्डै १ वर्षपछि अनुसन्धानका लागि वुहान पुगेको हो। टोलीमा १० जना वैज्ञानिक संलग्न छन्। टोलीले त्यहाँको रिसर्च इन्स्टिच्युट, अस्पताल र सीफुल मार्केटमा गएर सोधपुछ गर्नेछ। 

सन् २०१९ को अन्त्यतिर वुहानमाट पहिलोपटक कोरोना संक्रमण देखिएको थियो। अहिले वुहानको अवस्था लगभग सामान्य छ। 

अनुसन्धान सुरु गर्नुअघि टोलीमा रहेका सदस्यहरु दुई साता लामो क्वारेन्टिनमा बस्नेछन्। त्यसपछि मात्र अनुसन्धान सुरु हुने डब्ल्यूएचओले जनाएको छ। 

टोलीले चिनियाँ अधिकारीहरुबाट प्राप्त नमुना र प्रमाणहरुमै आधारित भएर अनुसन्धान गर्नेछन्। टोलीले यो भाइरसको सुरुआत कुनै जीवबाट भएको हो वा होइन भन्ने विषयमा पनि अनुसन्धान गर्नेछ। 

यद्यपि चीनले लामो समयदेखि यो भाइरस आफ्नो देशबाट सुरु भएको भन्ने विषयमा खण्डन गर्दै आएको छ। 

डब्ल्यूएचओको विश्व संक्रमण तथा प्रतिक्रिया युनिटका अध्यक्ष प्रोफेसर डेल फिसरले विश्वले यो अनुसन्धानलाई विशुद्ध वैज्ञानिक दृष्टिकोणले हेर्नुपर्ने बताए। ‘यो अनुसन्धान राजनीतिक र आरोप्रत्यारोपबाट प्रेरित छैन’, उनले भने, ‘यो एउटा वैज्ञानिक अनुसन्धानमा मात्र सीमित रहनेछ।’

प्रोफेसर फिसरका अनुसार अधिकांश वैज्ञानिकहरु यो भाइरस प्राकृतिक रुपमा आएको मान्यता राख्छन्। तर सुरुआती अवस्थामा यो भाइरस वुहानको मासुबजारबाट फैलिएको बताइएको थियो ।– एजेन्सी