काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकैपटक तीन बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले कृषि विकास बैंक, एनसीसी बैंक र कामना सेवा विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बोर्डले यी तीन बैंकलाई कुल १० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ। 

अनुमति पाएकामध्ये कृषि विकास बैंकले कुल ६ अर्ब रुपैयाँबराबरको ‘कृषि ऋणपत्र’ निष्कासन गर्नेछ। प्रतिइकाइ १ हजार अंकित कुल ६० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी ३६ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गर्नेछ। 

कृषि विकास बैंकको ७ वर्षे यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नै रहेको छ। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशतका दरले ब्याज पाउनेछन्। 

त्यस्तै एनसीसी बैंकले पनि कुल ३ अर्ब रुपैयाँबराबरको ‘एनसीसी ऋणपत्र–२०८६’ निष्कासन गर्नेछ। प्रतिइकाइ १ हजार अंकित कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो।

बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी १८ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गर्नेछ। 

एनसीसी बैंकको १० वर्षे यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ९.५ प्रतिशतका दरले ब्याज पाउनेछन्। 

यसैगरी कामना सेवाले भने कुल १ अर्ब रुपैयाँबराबरको ‘कामना सेवा बैंक लिमिटेड डिबेन्चर–२०८७’ निष्कासन गर्नेछ। प्रतिइकाइ १ हजार अंकित कुल १० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

कामना सेवाले कुल इकाइमध्ये ४ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी ६ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गर्नेछ। 

कामना सेवाको १० वर्षे ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्। 

तीनवटै ऋणपत्रका लगानीकर्ताहरुलाई ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।